बेलडाँडीमा आतंक फैलाउने कुकुर मारियो, रेबिज परीक्षणका लागि नमुना संकलन

बेलडाँडी। बेलडाँडी गाउँपालिकामा एक उग्र कुकुरले दुई दिनसम्म आतंक मच्चाउँदा ८-१० जना मानिस तथा करिब ६०-७० वटा गाईभैंसी, बाख्रा लगायतका चौपाया घाइते भएका छन्। कुकुरको आक्रमणबाट स्थानीयवासी त्रसित बनेपछि गाउँले र बेलडाँडी गाउँपालिका वडा नम्बर २ को सहयोगमा उक्त कुकुरलाई नियन्त्रण गरी मारिएको छ।

मारिएको कुकुरमा रेबिज संक्रमण थियो वा थिएन भन्ने यकिन गर्न आज बिहान पशु सेवा प्राविधिक हरिदत्त भट्टले पोष्टमार्टम गरी आवश्यक नमुना संकलन गरेर परीक्षणका लागि धनगढी पठाउनुभएको छ।

प्राविधिक भट्टका अनुसार पोष्टमार्टमका लागि आवश्यक पीपीई सेट लगायतका सुरक्षा सामग्रीको अभाव हुँदाहुँदै जोखिम मोलेर नमुना संकलन गरिएको हो। परीक्षणको नतिजा आएपछि मात्रै कुकुरमा रेबिज संक्रमण रहेको वा नरहेको पुष्टि हुने उहाँले बताउनुभयो।

बेलडाँडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नारद सिंह उर्यालयले कुकुरले वडाभरि आतंक सिर्जना गरेपछि स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै नियन्त्रण गरी मार्नुपरेको जानकारी दिनुभयो। कुकुरको टोकाइबाट घाइते भएका व्यक्तिहरूको उपचार भइरहेको छ भने प्रभावित चौपायाहरूलाई समेत आवश्यक निगरानी र उपचारको व्यवस्था गरिएको छ।

घटनापछि बेलडाँडी क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। स्थानीयहरूले रेबिज नियन्त्रण, सडक कुकुर व्यवस्थापन तथा पशु स्वास्थ्य सेवाका लागि आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। कुकुरको नमुना परीक्षणको नतिजा आउने प्रतीक्षामा स्थानीयवासी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित