कैलाली । गोदावरी नगरपालिका-४ बासपानीकी धनादेवी धामीको टेम्पो भीरबाट खसालिएको घटनापछि डिभिजन वन कार्यालय कैलालीले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलिएको “वन कर्मचारीले टेम्पो भीरमा फाले” भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।
तर वन कार्यालयको स्पष्टीकरणपछि पनि एउटा प्रश्न भने अझै जीवित छ, कुनै पनि कारणले नागरिकको जीविकोपार्जनको आधार बनेको सवारी साधनलाई भीरमा खसालिनु मानवीय हो त ?
वन कार्यालयले जारी गरेको विज्ञप्तिमा गोदावरी सामुदायिक वनको गाईमारे चुरे क्षेत्रमा लामो समयदेखि वन अतिक्रमण गरी अवैध खोका-छाप्रा सञ्चालन भइरहेको र त्यसलाई हटाउने अभियान चलिरहेको जनाएको छ।
कार्यालयका अनुसार उक्त स्थानमा रहेको टेम्पो सञ्चालन अवस्थाको सवारी साधन नभई चक्का र इन्जिनसमेत बिग्रिएको फलामे अवशेष मात्र थियो, जसलाई अतिक्रमण गर्ने उद्देश्यले त्यहाँ राखिएको थियो।
विज्ञप्तिमा टेम्पो हटाउन यसअघि नै निर्देशन दिइएको, अन्य संरचना हटाइए पनि सम्बन्धित व्यक्तिले पुनः त्यही स्थानमा टेम्पो राखेर पसल सञ्चालन गरेको उल्लेख गरिएको छ। शुक्रबार पुनः अतिक्रमण हटाउने क्रममा वन टोलीले उक्त टेम्पो हटाउन खोज्दा चुरे क्षेत्रको भौगोलिक जटिलता र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई भीरबाट खसेको दाबी गरिएको छ।
वन कार्यालयले यो घटना नियोजित रूपमा टेम्पो फालिएको नभई अतिक्रमण हटाउने क्रममा भएको दुर्घटना भएको दाबी गर्दै अतिरञ्जित र भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेको छ।
तर, वन कार्यालयको यो स्पष्टीकरणले पनि जनस्तरमा उठेका नैतिक प्रश्नहरूको जवाफ दिन सकेको देखिँदैन। यदि टेम्पो सञ्चालन अवस्थाको थिएन भने पनि त्यसलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने विकल्प खोज्न सकिन्थ्यो।
सम्बन्धित व्यक्तिलाई पर्याप्त समय दिने, स्थानीय जनप्रतिनिधिको रोहबरमा हटाउने वा अन्यत्र सार्ने व्यवस्था मिलाउन सकिन्थ्यो। राज्यका निकायबाट हुने कारबाही कानुनी मात्र होइन, संवेदनशील र मानवीय पनि हुनुपर्छ।
धनादेवी धामीले भने आफ्नो टेम्पो वर्षौंको मेहनतले जोडेकी र त्यसैमार्फत व्यापार गरेर परिवार चलाउँदै आएको बताउँदै आएकी छन्। “गाडी घर लैजान्छौं भन्दा पनि मान्नुभएन,” भन्ने उनको गुनासोले घटनाको मानवीय पक्षलाई थप गम्भीर बनाएको छ।
वन अतिक्रमण नियन्त्रण राज्यको दायित्व हो। तर कानून कार्यान्वयनका नाममा नागरिकको दुःख, संघर्ष र जीविकोपार्जनको आधारमाथि कठोरता प्रदर्शन गरिनु कुनै पनि दृष्टिकोणबाट उचित ठहरिन सक्दैन। टेम्पो नियतवश फालिएको होस् वा हटाउने क्रममा खसेको होस्, परिणाम एउटै छ, एक श्रमिक महिलाको सहारा चकनाचुर भएको छ।
त्यसैले यस घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुका साथै पीडितलाई भएको क्षतिको उचित मूल्याङ्कन र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ।
कानूनको शासनसँगै राज्यको मानवीय अनुहार पनि उत्तिकै महत्वपूर्ण हुन्छ। भीरमा खसेको त्यो टेम्पोसँगै एउटा परिवारको आशा र संघर्ष पनि खसेको पीडा राज्यले बुझ्नैपर्छ।






















Discussion about this post