बेलडाँडी-२ को नयाँ प्रशासकीय भवन उद्घाटन, वडावासीले अब आफ्नै भवनबाट सहज सेवा पाउने

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. २ को नवनिर्मित प्रशासकीय भवन आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्टले भवनको उद्घाटन गर्दै स्थानीय सरकारलाई थप प्रभावकारी, व्यवस्थित र सेवामुखी बनाउन यस्ता संरचनाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

वडा कार्यालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा सभापति वडाध्यक्ष नारद सिंह उर्याल, प्रमुख अतिथि बिष्ट, विशिष्ट अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, विभिन्न वडाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले बेलडाँडीको विकास र समृद्धिका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए । उनले गाउँपालिका अध्यक्ष रानाले विकास निर्माणका योजना भित्र्याउन विभिन्न मन्त्रालय, विभाग तथा निकायमा निरन्तर पहल गरिरहेको उल्लेख गर्दै बेलडाँडीको विकास यात्रामा उनको महत्वपूर्ण योगदान रहेको बताए ।

“पालिका अध्यक्ष राना विकासका लागि निरन्तर दौडधुप गरिरहनुभएको छ । आवश्यक समन्वय र सहजीकरणका लागि मैले पनि माथिल्लो तहमा पहल गर्दै आएको छु,” उनले भने । बिष्टले विकास निर्माणमा राजनीतिकभन्दा माथि उठेर सबैले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

विशिष्ट अतिथि तथा गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै वडावासीले थप सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले बेलडाँडीका सबै वडामा आधुनिक प्रशासकीय भवन निर्माण गरी नागरिकलाई आफ्नै गाउँठाउँमा प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य अनुसार काम भइरहेको बताए ।

“स्थानीय सरकारको पहिलो दायित्व नागरिकलाई सहज सेवा दिनु हो । त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” अध्यक्ष रानाले भने । उनले केही दिनभित्र वडा नं. १ को नयाँ प्रशासकीय भवन समेत उद्घाटन गरिने जानकारी दिँदै बेलडाँडीलाई विकास र सुशासनको नमुना पालिकाका रूपमा स्थापित गर्ने अभियान जारी रहने बताए ।

कार्यक्रमका सभापति तथा वडा नं. २ का वडाध्यक्ष नारद सिंह उर्यालले नयाँ प्रशासकीय भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने संघीय सरकार, प्रदेश सरकार, गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी तथा सम्पूर्ण स्थानीयवासीप्रति आभार व्यक्त गरे । उनले लामो समयदेखि आफ्नै सुविधासम्पन्न भवनको आवश्यकता महसुस गरिरहेका वडावासीको सपना आज पूरा भएको बताए ।

“अब वडावासीले व्यवस्थित वातावरणमा सहज र छिटो सेवा पाउनेछन् । यो भवन केवल एउटा संरचना मात्र होइन, वडा नं. २ का नागरिकको चाहना, आवश्यकता र विकासप्रतिको साझा प्रतिबद्धताको प्रतिफल हो,” उर्यालले भने । उनले आगामी दिनमा वडालाई अझ सेवाग्राहीमैत्री, पारदर्शी र उत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अन्य वडाध्यक्ष, पूर्व वडाध्यक्ष तथा सहभागीहरूले नयाँ भवन निर्माणसँगै वडा कार्यालय नागरिकमैत्री र सेवामुखी बन्नुपर्नेमा जोड दिए। उनीहरूले आधुनिक भवनसँगै सेवाको गुणस्तरमा समेत सुधार आउनुपर्ने धारणा राख्दै स्थानीय सरकारलाई जनताको विश्वासको केन्द्रका रूपमा स्थापित गर्न आग्रह गरे ।

स्थानीयवासीहरूले पनि वडा नं. २ को भौगोलिक केन्द्र भागमा कार्यालय स्थापना भएपछि सेवा लिन टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका थिए । नयाँ भवनले प्रशासनिक पहुँच विस्तार गर्नुका साथै नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

वडा सचिव कमला बडालले सञ्चालन गरेको कार्यक्रममा भवन निर्माणसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको थियो । वडा कार्यालय भवन निर्माणका लागि गणेश निर्माण सेवा, बेलौरीसँग ६९ लाख रुपैयाँ बराबरको ठेक्का सम्झौता गरिएको थियो । त्यसैगरी सीमा पर्खाल, मुख्य प्रवेशद्वार, पार्किङ स्ट्यान्ड तथा पहुँच सडक निर्माणका लागि चौधरी बिल्डर्स, महेन्द्रनगरसँग ३५ लाख ९७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

हालसम्म भवन, सीमा पर्खाल, मुख्य गेट, पार्किङ क्षेत्र तथा पहुँच सडकसहितका संरचना निर्माणमा १ करोड ४ लाख ९७ हजार रुपैयाँभन्दा बढी लागत खर्च भइसकेको जनाइएको छ।

नवनिर्मित भवन सञ्चालनमा आएसँगै वडा नं. २ का नागरिकले थप व्यवस्थित, सहज र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । स्थानीय सरकारलाई जनताको घरदैलोमै अनुभूति गराउने उद्देश्यका साथ निर्माण गरिएको यो भवन बेलडाँडीको विकास यात्रामा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित