काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिने कार्यमा संलग्नमाथि तत्काल छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद रोकायाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका विभिन्न स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल छैन’ भन्दै बिक्री वितरण बन्द गरेको सूचना प्राप्त भएको उल्लेख गरे।
उनले मूल्य वृद्धि हुँदा जनताले अतिरिक्त आर्थिक भार वहन गर्नुपर्ने अवस्था रहने तर मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए। “मूल्य बढ्दा भार बोक्ने जनताले घट्दा राहत किन नपाउने ?” भन्दै उनले कृत्रिम अभाव सिर्जना गरी बजारमा असहज स्थिति बनाउनेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद रोकायाले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा सार्वजनिक यातायात तथा हवाई उडानको भाडादर पनि तत्काल पुनरावलोकन गरी उपभोक्तालाई राहत दिनुपर्ने माग गरे। उनले मूल्य समायोजनको प्रत्यक्ष लाभ नागरिकसम्म पुग्ने व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरे।





















Discussion about this post