बर्दिया । भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने सरकारको अभियानअन्तर्गत बर्दिया जिल्लाबाट लालपुर्जा वितरण कार्य सुरु गरिएको छ। यस अभियानको सुरुआतसँगै बर्दियाको बढैयाताल गाउँपालिका-४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित रहेका स्थानीयले लालपुर्जा पाएपछि उनीहरू अब औपचारिक रूपमा जग्गाधनी बनेका छन्। यसले उनीहरूको सामाजिक, आर्थिक तथा कानुनी सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गरेको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित सरकारले लालपुर्जा वितरण अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी गरेको छ। भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार वास्तविक भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने कार्यलाई अझ प्रभावकारी र तीव्र बनाइनेछ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावल ले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको अभियान क्रमशः देशभर विस्तार गरिने जानकारी दिइन्। उनले वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी अधिकार दिलाएर सामाजिक न्याय र आर्थिक सशक्तीकरणको आधार बलियो बनाइने उल्लेख गरिन्।
लामो समयदेखि समाधानको प्रतीक्षामा रहेको भूमिहीनताको समस्यालाई व्यवहारिक रूपमा सम्बोधन गर्दै सरकारले थालेको लालपुर्जा वितरण अभियानलाई नागरिकस्तरबाट सकारात्मक रूपमा हेरिएको छ। भूमिहीन परिवारलाई राज्यको मूलधारमा जोड्ने, उनीहरूको जीवनस्तर उकास्ने तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने दिशामा यो कदम महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
सरकारले थालेको यस अभियानले भूमिहीन नागरिकमा नयाँ आशा जगाएको छ भने सामाजिक न्याय, समावेशी विकास र नागरिक अधिकार सुनिश्चित गर्ने राज्यको प्रतिबद्धतालाई पनि थप मजबुत बनाएको छ।





















Discussion about this post