बेलडाँडी। डेंगु तथा जापानिज इन्सेफ्लाइटिस रोगको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले बेलडाँडी गाउँपालिकामा सरोकारवालासँग पैरवी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न शाखाका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय डोटीका कीट जन्यरोग नियन्त्रणा सम्बन्धि श्रोत ब्याक्ति हेमराज जोशीले डेंगु तथा जापानिज इन्सेफ्लाइटिसको वर्तमान अवस्था, जोखिम, रोकथामका उपाय तथा समुदायको भूमिकाबारे विस्तृत जानकारी गराए। उनले लामखुट्टेको टोकाइबाट सर्ने यी रोगबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, वातावरण सफा राख्ने, लामखुट्टेको टोकाइबाट जोगिने र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे।
त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत सिद्धराज भट्टले जापानिज इन्सेफ्लाइटिस पहिलो पटक सन् १८७१ मा जापानमा पहिचान भएकाले यस रोगको नाम जापानिज इन्सेफ्लाइटिस राखिएको जानकारी दिए। उनले रोगको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी, प्रारम्भिक लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने तथा समुदायस्तरमै व्यापक सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउदै डेंगु नियन्त्रणका लागि साउन, भाद्र र असोज महिनालाई अभियान नियन्त्रण महिनाको रूपमा अभियानै चलाइने जानकारी गराउनु भयो ।
कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक तथा पैरवी कार्यक्रमले समुदायमा जनचेतना अभिवृद्धि गर्न, लामखुट्टेजन्य रोगको रोकथाममा सबै पक्षलाई जिम्मेवार बनाउन तथा डेंगु र जापानिज इन्सेफ्लाइटिस नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
बेलडाँडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरबिन्द्र शाहीले डेंगु तथा जापानिज इन्सेफ्लाइटिसको रोकथाम र नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच समन्वय, सहकार्य र जनसहभागिता अझ सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिएको जानकारी गराउदै सबै पक्षबाट अभियानमा सहयोग हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको समापन बेलडाँडी उपाध्यक्ष शान्ति नाथले समापन गर्दै सरसफाईमा विशेष ध्यान दिए धेरै खाले रोगबाट बच्न सक्ने बताउनु भयो । उनले भने विभिन्न रोग पहिचानका लागि यहाँ श्रोत साधन नभएको बताउनुु भयो । जनचेतना मुलक कार्यक्रम टोलटोलमा चलाउनु पर्नेमा जोडदिनु भयो ।



















Discussion about this post