शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सम्पर्कविहीन भएका १७ महिलाको सकुशल उद्धार

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न प्रवेश गरेर सम्पर्कविहीन भएका कञ्चनपुरका १७ जना महिलाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भीमदत्त नगरपालिका-१९ दशरथ टोलका १४ जना तथा बेलडाँडी गाउँपालिका-२ का तीन जना गरी १७ जना महिलाको सोमबार सकुशल उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-१९ का १४ जना महिला आइतबार बिहान करिब ११ बजे मालुमेला पोष्ट हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए। यस्तै, बेलडाँडी गाउँपालिका-२ का तीन जना महिला पनि च्याउ संकलनका लागि निकुञ्जभित्र प्रवेश गर्दा बाटो बिराएर जंगलमै अलपत्र परेका थिए।

उनीहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोली परिचालन गरी खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। आइतबार रातिसम्म खोजी गर्दा उनीहरूको यकिन स्थान पत्ता लाग्न नसकेपछि सोमबार बिहानदेखि पुनः खोजी कार्यलाई तीव्र बनाइएको थियो।

बेलडाँडीका महिलाहरू फोनमार्फत सम्पर्कमा रहे पनि जंगलभित्रको ठ्याक्कै स्थान खुलाउन नसक्दा उद्धारमा केही कठिनाइ भएको थियो। संयुक्त उद्धार टोलीले खोजीलाई निरन्तरता दिँदै अन्ततः सबै १७ जनालाई सकुशल फेला पारी सुरक्षित रूपमा बाहिर ल्याएको हो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सबै महिलाको सकुशल उद्धार गरिएको पुष्टि गर्दै उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, निकुञ्ज प्रशासन तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित