बेलडाँडी । बेलडाँडी गाउँपालिकामा गत आर्थिक वर्ष २०८२/०८३ मा ३० हजार बोराको सेरेफेरोमा रासायनिक मल भित्रिएको दाबी गरिए पनि किसानले आवश्यक समयमा मल नपाएको गुनासो गर्दै वडा नं. ३ का किसानले छुट्टै मल वितरण डिपो सञ्चालनको माग गरेका छन् ।
बेलडाँडी-३ बैवाह क्षेत्रका साढे तीन सयभन्दा बढी किसानले राधाकृष्ण कृषि सहकारी संस्थालाई आधिकारिक मल वितरण केन्द्र (डिपो) को जिम्मेवारी दिनुपर्ने माग राख्दै तीन दिनदेखि गाउँपालिकामा धर्ना दिइरहेका छन् । किसानहरूले प्रमुख प्रशासकीय अधिकृतसमक्ष हस्ताक्षरसहित ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाले यसअघि गरेको निर्णय कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष रामलाल चौधरीले वर्षौंदेखि वडा नं. ३ का किसानले मल अभावका कारण सास्ती खेप्दै आएको बताउँदै किसानलाई सहज रूपमा अनुदानित रासायनिक मल उपलब्ध गराउन स्थानीय डिपो अत्यावश्यक रहेको बताए । उनले गाउँपालिकाले मल वितरण व्यवस्थापन समितिबाट पारित निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरे ।
गाउँपालिकाको अभिलेखअनुसार २०८२ माघ ४ गते गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना को अध्यक्षतामा बसेको मल वितरण व्यवस्थापन समितिको बैठकले विभिन्न सहकारी संस्थाको कार्यक्षेत्र निर्धारण गर्दै मल वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
बैठकले बेलडाँडी साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई नेपाल सरकारबाट अनुदानित रासायनिक मल बिक्री–वितरणका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा डिलरसिप सिफारिस गर्ने निर्णय गरेको थियो। साथै विभिन्न सहकारी संस्थालाई वडा अनुसार कार्यक्षेत्र तोक्दै समान रूपमा मल वितरण गर्ने निर्णय पनि पारित गरिएको थियो ।
निर्णयअनुसार सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारीलाई वडा नं. १, सेवा कृषि सहकारी र बेलडाँडी साना किसान कृषि सहकारीलाई वडा नं. २, राधाकृष्ण कृषि सहकारी तथा नव बेलडाँडी कृषि सहकारीलाई वडा नं. ३, कामना बचत तथा ऋण सहकारीलाई वडा नं. ४ र बागेश्वरी बहुउद्देश्यीय सहकारीलाई वडा नं. ५ को कार्यक्षेत्र तोकिएको थियो ।
तर किसानहरूको आरोप छ कि समितिको निर्णय व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । केही सहकारी संस्थाले मनोमानी ढंगले मल बाहिर पठाउने र स्थानीय किसानलाई आवश्यक समयमा मल उपलब्ध नगराउँदा बेलडाँडीमा कृत्रिम अभाव सिर्जना भएको उनीहरूको दाबी छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलडाँडीका सभापति तेज सिंह धामी ले बेलडाँडीमा भित्रिएको सम्पूर्ण मल स्थानीय किसानलाई मात्र पारदर्शी रूपमा वितरण गरिएको भए एक आर्थिक वर्षमा आएको मल दुई आर्थिक वर्षसम्म पुग्ने अवस्था रहने दाबी गरे ।
यस्तै वडा नं. ३ का युवा किसान जय राम दहितले समान पहुँचका आधारमा किसानले मल पाउने व्यवस्था हुनुपर्नेमा हालको वितरण प्रणाली मनोगत भएको आरोप लगाए । उनले मल वितरण व्यवस्थापन समितिले किसानको वास्तविक आवश्यकता बुझेर तत्काल वडा नं. ३ मा डिपो सञ्चालनको जिम्मेवारी दिनुपर्ने बताए ।
दहितले साढे तीन सयभन्दा बढी किसानको हस्ताक्षरसहित मागपत्र बुझाइसकेको उल्लेख गर्दै किसानको माग बेवास्ता गरिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।
स्थानीय किसानहरूले समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाइए मात्रै आगामी बाली उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।





















Discussion about this post