सुई-धागोले भविष्य सिउने बुवाका दुई छोरा बने राष्ट्रसेवक : अभावलाई हराउँदै संघर्षले लेख्यो सफलताको नयाँ इतिहास

बेलडाँडी । कहिलेकाहीँ सफलताको कथा करोडौं रुपैयाँ, महँगा विद्यालय वा ठूलो शहरबाट सुरु हुँदैन । त्यो कथा सुरु हुन्छ एउटा सानो झुपडीबाट, जहाँ बुवाको पसिनाले भिजेको सुई-धागो र आमाको त्यागले सन्तानको भविष्य बुन्दै जान्छ ।

बेलडाँडी गाउँपालिका-५ का विनोद दमाई र विकास दमाई त्यही संघर्षको जिउँदो उदाहरण हुन् । आर्थिक अभाव, सामाजिक विभेद र अवसरको कमीका बीच हुर्किएका यी दुई सहोदर दाजुभाइले आज प्रमाणित गरेका छन् कि सपना गरिबको पनि हुन्छ, त्यसलाई पूरा गर्ने आँट र मेहनत भए पुग्छ ।

उनीहरू दलित परिवारमा जन्मिए । बुवा वर्षौंदेखि गाउँका मानिसका कपडा सिलाउने काम गर्थे । कहिले बालीघरेमा मजदुरी, कहिले सिलाइ, जे काम पाए त्यही गरेर परिवार पाल्थे । घरमा अभाव थियो, तर बुवाआमाको आँखामा एउटा सपना कहिल्यै मरेन, “हाम्रा छोराहरू पढेर ठूलो मान्छे बन्नुपर्छ ।“

धेरै अभिभावकले आफ्ना सन्तानलाई महँगा निजी विद्यालयमा पढाउनुलाई सफलताको आधार ठानिरहेका बेला विनोद र विकासले भने सरकारी विद्यालयमै पढेर पनि उत्कृष्ट सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

उनीहरूले कखरादेखि कक्षा ८ सम्मको अध्ययन गाउँकै बैजनाथ माध्यमिक विद्यालय मा गरे । त्यसपछि माध्यमिक शिक्षा गणेश माध्यमिक विद्यालय, भुर्षा बाट पूरा गरे । उच्च शिक्षाको खोजीमा धनगढी पुगे । त्यहाँ पढाइसँगै उनीहरूले भविष्यको एउटा सपना बुन्दै गए,“सरकारी सेवामा पुगेर समाजको सेवा गर्ने ।“

अभावले उनीहरूलाई कहिल्यै रोक्न सकेन । बरु त्यही अभाव उनीहरूको सबैभन्दा ठूलो प्रेरणा बन्यो । पढ्दै गर्दा दुवै दाजुभाइले गाउँकै निजी विद्यालयमा अध्यापन गरेर आफ्नै पढाइ खर्च जुटाए । बिहान विद्यालयमा पढाउने, बेलुका आफ्नै अध्ययन गर्ने र फुर्सद मिल्दा बुवाआमाको काममा सघाउने, यही थियो उनीहरूको दैनिक जीवन ।

विनोद सम्झिन्छन्, “आमाबुवाको संघर्ष देख्दा हामीलाई आराम गर्ने अधिकार नै छैन जस्तो लाग्थ्यो । उहाँहरूले हाम्रो भविष्यका लागि आफ्नो सम्पूर्ण जीवन खर्चिनुभयो । त्यसैले पढाइ नै हाम्रो पहिलो जिम्मेवारी बन्यो ।“

२०८० सालमै पहिलो प्रयासमा विनोद नेपाली शिक्षक सेवा आयोग उत्तीर्ण भए । अहिले उनी धादिङ जिल्लाको पञ्चकन्या आधारभूत विद्यालयमा प्रधानाध्यापक तथा स्थायी शिक्षकका रूपमा कार्यरत छन् । उनी हजारौं बालबालिकाको भविष्य उज्यालो बनाइरहेका छन् ।

उता भाइ विकासले पनि हार मानेनन् । एकै वर्ष सात स्थानमा आवेदन दिए, छ वटा प्रतिस्पर्धामा नाम निकाल्दै अन्ततः निजामती सेवामा स्थायी नियुक्ति लिने निधो गरे । हाल उनी गण्डकी प्रदेश, स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा नायब सुब्बा (पाँचौँ तह) तथा वडा सचिवका रूपमा जनताको सेवामा समर्पित छन् ।

यो सफलताले केवल दुई दाजुभाइको जीवन परिवर्तन गरेको छैन, वर्षौंदेखि अभावसँग लड्दै आएका उनीहरूका बुवाआमाको संघर्षलाई पनि सम्मान दिलाएको छ ।

एक समय छोराको कापी-कलम किन्न समेत पैसा जुटाउन कठिन हुने परिवारका दुई छोरा आज राष्ट्रसेवामा उभिएका छन् । त्यो दृश्य देख्दा बुवाआमाका आँखाबाट बगेका आँसु दुःखका होइनन्, गर्व र सफलताका हुन् ।

विनोद भन्छन्, “आज गाउँका धेरै युवा लागुऔषध र कुलतमा फसेको देख्दा दुःख लाग्छ । मेहनत, अनुशासन र शिक्षामा विश्वास गरे जीवन बदल्न सकिन्छ । हामीले कुनै चमत्कार गरेका होइनौँ, केवल संघर्ष छोडेनौँ ।“

विनोद र विकासको कथा केवल दलित समुदायको कथा होइन । यो हरेक गरिब, विपन्न, किसान, मजदुर र सपना देख्न डराउने परिवारको कथा हो । यो कथाले सिकाउँछ, सफलताको मापन जन्मले होइन, संघर्षले हुन्छ ।

बुवाले अरूका कपडा सिएर आफ्ना छोराको भविष्य सिए । आमाले आफ्ना रहरहरू त्यागेर छोराहरूको सपना बचाइन्। आज त्यही सपना शिक्षक र वडा सचिवको जिम्मेवारीमा परिणत भएको छ ।

समाजले कहिलेकाहीँ गरिबलाई कमजोर ठान्छ, दलितलाई पछाडि पार्न खोज्छ । तर शिक्षा, इमानदारी र अथक मेहनतका अगाडि गरिबी, जातीय विभेद र अभाव सबै पराजित हुन्छन् भन्ने ज्वलन्त उदाहरण बनेका छन् यी दुई सहोदर ।

“आमाबुवाको पसिनाले सिँचेको सपना कहिल्यै सुक्दैन । समय लाग्न सक्छ, तर एक दिन त्यो अवश्य फुल्छ ।“ आज विनोद र विकासको सफलताले एउटा परिवार मात्र होइन, सम्पूर्ण बेलडाँडी, दलित समुदाय र संघर्ष गरिरहेका हजारौँ युवालाई एउटै सन्देश दिएको छ, “परिस्थिति कमजोर हुन सक्छ, तर इच्छाशक्ति कमजोर हुनु हुँदैन । मेहनत र शिक्षाको बाटो रोज्नेले एक दिन अवश्य आफ्नो गन्तव्य भेट्छ ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित