बेलडाँडी । मानव बेचविखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि बेलडाँडीमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
मानव बेचविखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय बेलडाँडीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार बेलडाँडीको चवन्नी बजार पछाडि रहेको त्रिशूली आधारभूत विद्यालयको प्राङ्गणमा सचेतना कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक जय पार्कीले चवन्नी बजार आसपासका व्यापारी, जनप्रतिनिधि तथा स्थानीयवासीलाई मानव बेचविखन तथा ओसारपसारका कारण, जोखिम र रोकथामका उपायबारे जानकारी गराएका थिए।
प्रहरी निरीक्षक पार्कीले मानव बेचविखन तथा ओसारपसार जस्तो गम्भीर सामाजिक अपराधबाट विशेषगरी महिला तथा बालबालिका बढी जोखिममा पर्ने भएकाले सबै पक्ष सचेत र सजग रहनुपर्नेमा जोड दिए। अपरिचित व्यक्तिको प्रलोभन, रोजगारी तथा वैदेशिक रोजगारका नाममा हुने शंकास्पद गतिविधिप्रति सजग रहन र कुनै शंकास्पद घटना वा गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे।
मानव बेचविखन नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई समुदाय, स्थानीय सरकार, व्यापारी, अभिभावक र आम नागरिक सबैको साझा दायित्व भएको उल्लेख गर्दै पार्कीले सामूहिक सचेतना र सहकार्यबाट मात्रै यसको प्रभावकारी रोकथाम सम्भव हुने बताए।
दिवसको अवसरमा आयोजित कार्यक्रमले स्थानीयस्तरमा मानव बेचविखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै सम्भावित जोखिमबाट समुदायलाई सुरक्षित राख्न महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।





















Discussion about this post