बेलडाँडी । पछिल्ला दुई दिनदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ कालिका टोल, पिपलचौताराकी एकल महिला शान्ती भट्टको घर भासिएर चर्किएको छ । घरका विभिन्न भागमा चिरा परेपछि भट्टसहित उनका नातिनातिना अहिले विचल्लीमा परेका छन् ।
अविरल वर्षाका कारण घरवरिपरि पानी जमेर जमिन कमजोर भएपछि घर भासिएको र जुनसुकै बेला भत्किन सक्ने अवस्था आएको भट्टले बताएकी छन् । घर चर्किएपछि परिवारलाई त्यही घरमा बस्नसमेत जोखिम भएको छ ।
नातिनातिनासहित घरमै बस्दै आएकी भट्टलाई घरमा क्षति पुगेपछि सुरक्षित बसोबासको समेत समस्या परेको छ । विपद्को समयमा घर नै जोखिममा परेपछि पीडित परिवारले स्थानीय सरकारबाट तत्काल राहत तथा आवश्यक सहयोगको अपेक्षा गरेका छन् ।
बेलडाँडी गाउँपालिका-१ का वडा अध्यक्ष गजबहादुर विष्टले उक्त घटनाबारे आफूलाई यसअघि जानकारी नआएको बताउँदै अब प्राप्त जानकारीका आधारमा घटनास्थलको अवस्था बुझेर वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पीडित परिवारको अवस्था हेरेर आवश्यक राहत तथा व्यवस्थापनमा वडा र गाउँपालिकाबाट सक्दो मलम लगाउने बताए ।
पछिल्लो समय वर्षाको पानीको उचित निकास नहुँदा बेलडाँडीका खल्ला क्षेत्र मात्र नभई डाँडा तथा बस्ती क्षेत्रमा समेत डुबान र घर भासिने समस्या देखिन थालेको छ । पानी निकासको दीर्घकालीन व्यवस्था नहुँदा सामान्य वर्षामै स्थानीयवासीले जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
स्थानीयवासीले वर्षाको पानीको व्यवस्थित निकासका लागि तत्काल आवश्यक पहल गर्न र विपद्मा परेका परिवारलाई राहत तथा सुरक्षित बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गरेका छन् । विशेषगरी एकल महिला तथा बालबालिकासहित जोखिममा परेको भट्ट परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।





















Discussion about this post