महाकाली सिँचाईको केन्द्रीय अध्यक्षमा थापा र भट्टबीच प्रतिस्पर्धा

कञ्चनपुर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष भीमबहादुर थापा र प्रथम चरणका अध्यक्ष गंगादत्त भट्टबीच प्रतिस्पर्धा हुने भएको छ।

शनिबार हुने निर्वाचनका लागि दुवै उम्मेदवार मतदातामाझ पुगेर आफ्ना एजेण्डा प्रस्तुत गर्दै चुनावी अभियानमा सक्रिय छन्। उपाध्यक्ष पदमा दिलीप कुँवर र यज्ञराज भट्ट पनि प्रतिस्पर्धामा छन्।

केन्द्रीय समितिका महासचिवमा अशोकसिंह साउद, सचिवमा गोपालसिंह कुँवर र कोषाध्यक्षमा दिलीप बुढाऐरसहित अन्य पदाधिकारी तथा सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्ष र उपाध्यक्ष चयनका लागि १ सय ३४ मतदाताले मतदान गर्नेछन्।

अध्यक्षका उम्मेदवार गंगादत्त भट्टले समग्र सिँचाई प्रणालीको सुधार गर्दै किसानका खेतसम्म नियमित र प्रभावकारी रूपमा पानी पुर्‍याउने विषयलाई मुख्य एजेण्डा बनाएका छन्। कृषिमा आत्मनिर्भरता हासिल गर्न सिँचाईको महत्वपूर्ण भूमिका रहने भन्दै उनले समयमै सिँचाईका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

यता, निवर्तमान अध्यक्ष भीमबहादुर थापाले सिँचाई प्रणालीमा आधुनिकीकरण र व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखेका छन्। उनले आरसीसी टर्सरी निर्माण, सिमसार व्यवस्थापन तथा मुहानबाटै पानीको स्रोत व्यवस्थापनलगायतका विषयलाई आफ्नो एजेण्डामा समेटेका छन्।

थापाको पक्षमा उनको यसअघिको नेतृत्व अनुभव र सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान पनि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। उनी यसअघि पनि महाकाली सिँचाई जल उपभोक्ता संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। सिँचाईसँग प्रत्यक्ष रूपमा जोडिएका किसानका समस्या, सिँचाई प्रणालीको सञ्चालन तथा व्यवस्थापनबारे लामो समयदेखि काम गर्दै आएका थापाले आगामी नेतृत्वमा अनुभवलाई प्रभावकारी रूपमा उपयोग गर्ने बताउँदै आएका छन्।

महाकाली सिँचाई व्यवस्थापन कार्यालयअन्तर्गत भीमदत्त, बेदकोट, बेलडाँडी र बेलौरी क्षेत्रमा सिँचाई सुविधा पुगेको छ। यस क्षेत्रका किसानका लागि नियमित सिँचाई, संरचनाको संरक्षण तथा आधुनिक व्यवस्थापन आगामी नेतृत्वका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

अब शनिबार हुने निर्वाचनले महाकाली सिँचाई जल उपभोक्ता संघको आगामी नेतृत्वको टुंगो लगाउनेछ। अध्यक्ष पदका दुवै उम्मेदवारले आफ्ना एजेण्डा अघि सारे पनि थापाको नेतृत्व अनुभव, यसअघिको कार्यकाल र सामाजिक सेवामा सक्रिय भूमिकालाई उनका समर्थकहरूले चुनावी आधारका रूपमा प्रस्तुत गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित