कञ्चनपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बेलडाँडी गाउँपालिकामा देउवा पक्षीय कांग्रेसको वडा अधिवेशनले तीव्रता पाएको छ। गाउँपालिकाका पाँच वडामध्ये वडा नं. ४ बाहेक चारवटै वडामा वडा सभापति सर्वसम्मत चयन भएका छन्।
शुक्रबार सम्पन्न वडा अधिवेशनबाट वडा नं. १ को सभापतिमा महेश विष्ट, वडा नं. २ मा जीतबहादुर धामी, वडा नं. ३ मा हंसराम राना र वडा नं. ५ मा हिरासिंह कार्की सर्वसम्मत निर्वाचित हुनुभएको हो। वडा नं. ४ को अधिवेशन भने असोज १८ गते हुने जनाइएको छ।
सर्वसम्मत रूपमा वडा नेतृत्वको जिम्मेवारी पाएका सभापतिहरूले पार्टीलाई वडास्तरमा थप संगठित, एकताबद्ध र सक्रिय बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले स्थानीय तहमा पार्टी संगठनलाई बलियो बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने बताएका छन्।
बेलडाँडीमा देउवा पक्षीय वडा अधिवेशन सुरु भएसँगै यसले कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिलाई थप रोचक बनाएको छ। यसअघि गगन थापा पक्षले वडा तथा क्षेत्रीय अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइसकेको छ।
कांग्रेसभित्र दुई पक्षबाट समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला नेता-कार्यकर्तामाझ भने पार्टीको अन्तिम आधिकारिक संरचना र नेतृत्वको विषयलाई लिएर अन्योल कायमै देखिएको छ। कांग्रेसका दुवै पक्षले आ-आफ्नो अधिवेशन प्रक्रियालाई वैधानिक दाबी गर्दै अघि बढाइरहेका छन्।
यसैबीच, देउवा पक्षले देशभर वडा अधिवेशनमार्फत संगठन विस्तारको प्रक्रिया अघि बढाएको छ भने कांग्रेसको अर्को पक्षले पनि १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाइरहेको छ।
बेलडाँडीमा भने अब वडा नं. ४ को अधिवेशन सम्पन्न भएपछि देउवा पक्षीय कांग्रेसको वडा तहको अधिवेशन प्रक्रिया पूरा हुनेछ।























Discussion about this post