चवन्नी बजारमा आगलागी, मर्निङ वाक टोलीको सतर्कताले ठूलो क्षति हुनबाट जोगियो

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ चवन्नी बजारस्थित कलावती भट्टको सिलाई सेन्टरमा सोमबार बिहान आगलागी भएको छ। बिहान करिब साढे ४ बजे लागेको आगो स्थानीय, प्रहरी तथा मर्निङ वाक टोलीको सक्रियतामा समयमै नियन्त्रणमा लिइएको हो।

बिहान मर्निङ वाकमा निस्किएका टोलीका सदस्य डम्बर शाहले सिलाई सेन्टरबाट आगोको मुस्लो निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शाहले समयमै दिएको सूचनापछि स्थानीयवासी, मर्निङ वाक टोली र प्रहरीले संयुक्त रूपमा आगो नियन्त्रणको प्रयास गरेका थिए। करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको बताइएको छ।

आगलागीबाट सिलाई सेन्टरमा रहेका ग्राहकका कपडा, सिलाई मेसिन, फर्निचर, काउन्टरलगायतका सामग्रीमा क्षति पुगेको छ। आगोका कारण पक्की भवनमा समेत क्षति पुगेको जनाइएको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी प्रमुख जय पार्कीका अनुसार करिब ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको जनाए ।

उक्त सिलाई सेन्टर रहेको भवनको पछाडिपट्टि एनएमबी बैंक तथा सोही भवनमा एलपी ग्यासको गोदामसमेत रहेको बताइएको छ। आगो समयमै नियन्त्रणमा लिन नसकेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको स्थानीयको भनाइ छ।

विद्युतीय तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

बेलडाँडीमा नियमित बिहान हिँडडुल गर्ने मर्निङ वाक टोली पछिल्लो समय स्वास्थ्यसँगै सामाजिक सेवामा समेत सक्रिय हुँदै आएको छ। बिहानको नियमित हिँडाइलाई स्वास्थ्यका लागि उपयोगी बनाउँदै आएको यो टोलीले आवश्यक परेको अवस्थामा सामाजिक तथा मानवीय काममा समेत सक्रियता देखाउँदै आएको छ।

चवन्नी बजारको आगलागीमा पनि टोलीका सदस्य डम्बर शाहले समयमै घटना पहिचान गरी प्रहरीलाई सूचना दिनु त्यसैको एउटा उदाहरण बनेको छ। बिहानको हिँडाइ शरीरलाई स्वस्थ राख्ने अभ्यास मात्रै नभई समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने माध्यमसमेत बन्न सक्छ भन्ने सन्देश मर्निङ वाक टोलीले दिएको छ।

स्थानीयका अनुसार बिहानै नियमित रूपमा सडकमा निस्किने टोलीका सदस्यहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै बाटोघाटो, बजार तथा आसपासका क्षेत्रमा देखिएका समस्या पहिचान गर्नसमेत सहयोग पुर्‍याउँदै आएका छन्।

चवन्नी बजारमा भएको आगलागीमा समयमै सूचना प्रवाह गरेर ठूलो क्षति हुनबाट जोगाउन भूमिका खेलेको भन्दै स्थानीयले मर्निङ वाक टोलीको सक्रियताको प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित