बेलडाँडी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको पहिचान गरी रेडियो कलर (जीपीएस) जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि यस्तो पहल थालिएको जानकारी दिएकी छन्।
शनिबार कञ्चनपुरको बेलडाँडी पुगेकी मन्त्री चौधरीले बस्तीमा बारम्बार प्रवेश गरी आतंक मच्चाउने हात्तीको पहिचान गरेर रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढेको बताइन्। रेडियो कलर जडान भएपछि हात्तीको अवस्थिति र आवागमनबारे संरक्षणकर्मीले जानकारी पाउने र सोहीअनुसार स्थानीय बासिन्दालाई पूर्वसूचना दिन सहज हुने उनको भनाइ छ।
हात्तीको गतिविधि पहिल्यै थाहा पाएर बस्तीमा सचेतना फैलाउन सकिने भएकाले यसले मानव-हात्ती द्वन्द्व नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। हात्ती बस्तीमा प्रवेश गर्नुअघि नै जोखिमको सूचना प्रवाह गर्न सके मानवीय क्षति न्यूनीकरण गर्नुका साथै हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ फर्काउने प्रयासमा समेत सहजता आउने विश्वास गरिएको छ।
सांसद धामीको पहलमा मन्त्रालय गम्भीर : मन्त्री चौधरी
मन्त्री चौधरीले कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य जनक सिंह धामीले कृषि, सामुदायिक वनको अवधारणा, कालिकिच ताल संरक्षण, किसानलाई सहज रूपमा सहुलियतको मल उपलब्ध गराउने, सिमसार व्यवस्थापन तथा तटबन्ध निर्माणलगायतका विषयमा निरन्तर पहल गरिरहेको बताइन्।
सांसद धामीले आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माण र जनताका आधारभूत समस्याप्रति देखाएको चासोको प्रशंसा गर्दै मन्त्री चौधरीले मन्त्रालय यी विषयमा गम्भीर रहेको स्पष्ट पारिन्।
जनताका आधारभूत समस्या समाधान गर्न सरकार गम्भीर ढंगले अघि बढिरहेको उल्लेख गर्दै उनले केही ऐन तथा कानुनका कारण काम गर्न देखिएका जटिलता हटाउने प्रयास भइरहेको बताइन्।
जनताको विश्वासअनुसार काम गर्छु : सांसद धामी
प्रतिनिधिसभा सदस्य जनक सिंह धामीले जनताले आफूमाथि गरेको विश्वास र अपेक्षाअनुसार काम गरिरहेको बताए। उनले बेलडाँडीसहित कञ्चनपुर क्षेत्र नं. १ को विकास, सुशासन र जनताका समस्या समाधानका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।
जनताका समस्या समाधान गर्न सरकारसमेत एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले स्थानीय आवश्यकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरिने बताए।
किसानको क्षतिपूर्ति, मलखाद र वन्यजन्तु नियन्त्रणमा उठे गम्भीर सवाल
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलडाँडीका सभापति तेज सिंह धामीले जंगली जनावर दिनहुँ बस्तीमा प्रवेश गरी स्थानीय बासिन्दालाई त्रसित बनाउनुका साथै किसानको बालीनालीमा क्षति पुर्याइरहेको विषयमा मन्त्री चौधरी र सांसद धामीको ध्यानाकर्षण गराए।
उनले सडक विस्तारका क्रममा सडक क्षेत्रमा रहेका घर हटाउन सक्ने सरकारले सडक किनारका जोखिमपूर्ण रुख व्यवस्थापनमा समेत प्रभावकारी पहल गर्नुपर्ने बताए। वन्यजन्तुले किसानको बालीनालीमा क्षति पुर्याउँदा जग्गाको पुर्जा नहुँदा क्षतिपूर्ति पाउन कठिन हुने अवस्थाको अन्त्य गरी वास्तविक पीडितले शीघ्र क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्ने उनको माग थियो।
त्यसैगरी, स्थानीय तहमा किसानले उत्पादन गरेको कृषि उपज सरकारले खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, मलखादमा दिइँदै आएको अनुदानको प्रभावकारी अनुगमन गर्नुपर्ने र बेलडाँडीमा मलखाद वितरणमा भएको भनिएको अनियमितताबारे छानबिन गरी किसानले सहज रूपमा मल पाउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
उनले सामुदायिक वनको अवधारणा कार्यान्वयन गर्दै वन संरक्षण, स्थानीयको जीविकोपार्जन र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा स्थानीय नन्दवीर बुढा, हिरालाल राना र बसन्ती चौधरीले समेत बेलडाँडीका समस्या समाधानका लागि मन्त्री र सांसदसमक्ष जोडदार माग राखेका थिए। उनीहरूले वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, किसानका समस्या समाधान, सामुदायिक वनको अवधारणा र स्थानीय विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे।
बिदाको दिन पनि जनताका समस्या सुन्दै मन्त्री
बिदाको समयमा समेत जनताका कुरा सुन्ने र स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले मन्त्री चौधरी कञ्चनपुर क्षेत्र नं. १ का बेलडाँडी, बेलौरी, र पुनर्वास पुग्ने कार्यक्रम रहेको जनाइएको छ।
बेलडाँडीमा मन्त्री चौधरीको आगमनसँगै लामो समयदेखि वन्यजन्तुको त्रास झेलिरहेका स्थानीय बासिन्दाले मानव-हात्ती द्वन्द्व नियन्त्रण, किसानको क्षतिपूर्ति, मलखादको सहज उपलब्धता, सिमसार संरक्षण र तटबन्ध निर्माणजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।




















Discussion about this post