महाकाली प्रादेशिक अस्पतालमा १० जना कर्मचारी माग

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरले विभिन्न पदमा १० जना कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले करार सेवामा कर्मचारी नियुक्तिका लागि सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

अस्पतालले चालु आर्थिक वर्ष २०८३/०८४ मा स्वीकृत वार्षिक कार्यक्रमअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापनका लागि कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।

अस्पतालले प्रकाशित गरेको सूचनाअनुसार नवौँ तहका विभिन्न विशेषज्ञ चिकित्सकका ६ पदमा र आठौँ तहको मेडिकल अधिकृत पदमा तीन जना गरी कुल ९ जना कर्मचारी माग गरिएको छ।

त्यस्तै, कन्सल्टेन्ट मेडिकल जनरलिस्ट पदमा एक जना, कन्सल्टेन्ट जनरल फिजिसियनमा दुई जना, कन्सल्टेन्ट इएनटी सर्जनमा एक जना, कन्सल्टेन्ट साइक्याट्रिस्टमा एक जना, कन्सल्टेन्ट प्याथोलोजिस्टमा एक जना र कन्सल्टेन्ट डर्माटोलोजिस्टमा एक जना कर्मचारी माग गरिएको छ। आठौँ तहको मेडिकल अधिकृत पदमा तीन जना कर्मचारी माग गरिएको छ।

विशेषज्ञ चिकित्सक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। मेडिकल अधिकृत पदका लागि एमबीबीएस वा सोसरह उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन फाराम नवौँ तहका पदका लागि दुई हजार रुपैयाँ र आठौँ तहका मेडिकल अधिकृत पदका लागि एक हजार दुई सय रुपैयाँ दस्तुर बुझाएर प्राप्त गर्न सकिनेछ। उक्त रकम महाकाली प्रादेशिक अस्पतालको राष्ट्रिय वाणिज्य बैंक, महेन्द्रनगरस्थित खातामा जम्मा गरी बैंक भौचर वा अस्पताल प्रशासनमा बुझाउन सकिनेछ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ मंसिर २ गते अपराह्न ४ बजेसम्म आवेदन दिनुपर्नेछ। आवेदन फाराम अस्पतालको प्रशासन शाखाबाट वा अस्पतालको वेबसाइट mph.sudurpashchim.gov.np बाट डाउनलोड गर्न सकिनेछ।

आवेदन फारामसँग नेपाली नागरिकताको प्रमाणपत्र, तोकिएबमोजिमको शैक्षिक योग्यता तथा अन्य प्रमाणपत्रका स्वप्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। आवेदन अस्पतालको प्रशासन शाखामा बुझाउन वा mzh.hospital@gmail.com इमेलमार्फत पठाउन सकिने अस्पतालले जनाएको छ।

छनोट भएका उम्मेदवारसँग करार सम्झौता गरी नियुक्ति गरिनेछ। अस्पतालले आवश्यक जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित