बेलडाँडी । आफ्नै घर फर्किन पनि समय कुर्नुपर्ने, आफ्नै सदरमुकाम पुग्न पनि घडी हेर्नुपर्ने ! कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका नागरिकले वर्षौंदेखि यस्तै असहज परिस्थितिको सामना गर्दै आएका छन् । राति ८ बजेपछि न त उनीहरू सहजै आफ्नो घर फर्किन सक्छन्, न त आकस्मिक काम परेर सदरमुकाम महेन्द्रनगर पुग्न नै पाउँछन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले हुलाकी सडकअन्तर्गत दैजी-बण्डिखेडा चेकपोस्टदेखि बेलडाँडीको क्याम्प चेकपोस्टसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गर्दै आएको छ । करिब ७-८ वर्षअघिदेखि लागू गरिएको यो व्यवस्थाका कारण बेलडाँडीका नागरिकको रात्रीकालीन आवागमन प्रभावित हुँदै आएको छ । दुईपाङ्ग्रे सवारीसाधनदेखि ठूला सवारीसाधनसम्म सञ्चालनमा रोक लगाइँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ ।
यसको प्रत्यक्ष असर बेलडाँडीका नागरिकको दैनिक जीवनमा परेको छ । कुनै काम विशेषले सदरमुकाम महेन्द्रनगर वा शुक्लाफाँटाको जंगलपारि पुगेका नागरिकलाई राति ८ बजे भयो भने घर फर्किन कठिन हुन्छ । त्यस्तै, बेलडाँडीमै रहेका नागरिकलाई राति आकस्मिक काम परेमा महेन्द्रनगर जान पनि सहज छैन । समयमै घर पुग्न नसके बाटोमै रोकिनुपर्ने वा अन्यत्रै रात बिताउनुपर्ने अवस्था सिर्जना हुन्छ ।
सबैभन्दा संवेदनशील विषय स्वास्थ्य उपचारसँग जोडिएको छ । राति अकस्मात् कोही बिरामी परेमा, दुर्घटना भएमा वा तत्काल उपचारको आवश्यकता परेमा के गर्ने ? गम्भीर अवस्थाका बिरामीलाई महेन्द्रनगरस्थित अस्पतालसम्म पुर्याउनुपर्ने भए पनि रातिको समयमा सडक बन्द हुँदा समयमै अस्पताल पुग्ने बाटो नै अवरुद्ध हुने स्थानीयको गुनासो छ । बिरामीको अवस्था र समयले कुनै नियम कुर्दैन, तर यहाँका नागरिकले भने उपचारका लागि समेत सडक खुल्ने समय पर्खिनुपर्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।
स्थानीय नागरिकको माग दुईपाङ्ग्रे सवारीसाधनलाई समेत निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्छ भन्ने मात्रै होइन, कम्तीमा आकस्मिक सेवा, एम्बुलेन्स तथा अत्यावश्यक ठूला सवारीसाधनको आवागमन नरोकियोस् भन्ने हो । उनीहरूले वन्यजन्तुको सुरक्षालाई ध्यानमा राख्दै नागरिकको स्वास्थ्य, सुरक्षा र आवागमनको आवश्यकतालाई समेत सम्बोधन गर्ने व्यावहारिक व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।
यता निकुञ्ज कार्यालयले रातिको समयमा वन्यजन्तु नहरमा पानी पिउन आउने र ओहोरदोहोर गर्ने भएकाले उनीहरूको संरक्षण तथा सुरक्षाका लागि सडक बन्द गरिएको जनाउँदै आएको छ । वन्यजन्तुको प्राकृतिक आवागमन र संरक्षण महत्वपूर्ण विषय हो । तर वन्यजन्तु संरक्षणसँगै वर्षौंदेखि त्यही क्षेत्रलाई आफ्नो घर, गाउँ र जीवन बनाएका नागरिकको सहज आवागमन तथा आपत्कालीन आवश्यकतालाई पनि उत्तिकै महत्व दिनुपर्ने देखिन्छ ।
वन्यजन्तु जोगाउने जिम्मेवारी राज्यको हो भने नागरिकको जीवन, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्ने दायित्व पनि राज्यकै हो । संरक्षण र नागरिकको अधिकारबीच सन्तुलन कायम गर्न सकिँदैन र ? आवश्यक सुरक्षा मापदण्ड अपनाएर एम्बुलेन्स, दमकल, बिरामी बोकेका सवारीसाधन तथा अत्यावश्यक सेवाका ठूला सवारीसाधनलाई आवागमनको व्यवस्था गर्न सकिँदैन र ?
बेलडाँडीका नागरिकले वर्षौंदेखि उठाउँदै आएको यो प्रश्नको जवाफ सम्बन्धित निकायले दिन आवश्यक छ । राति ८ बजेपछि आफ्नै घर फर्किन नपाउने र आकस्मिक अवस्थामा आफ्नै सदरमुकाम पुग्नसमेत कठिन हुने अवस्थालाई सामान्य मान्न सकिँदैन ।
आखिर वन्यजन्तु संरक्षणका नाममा नागरिकले आफ्नो दैनिक जीवन नै असहज बनाउँदै कति वर्ष बिताउनुपर्ने ? वन्यजन्तुको सुरक्षा पनि होस्, नागरिकको जीवन पनि जोखिममा नपरोस् । बेलडाँडीबासीको माग यही हो, संरक्षणको नाममा नागरिकलाई रातको समयमा आफ्नै भूगोलभित्र आवागमन गर्नबाट वञ्चित महसुस गराउने होइन, वन्यजन्तु र मानव दुवैको सुरक्षा सुनिश्चित हुने व्यावहारिक विकल्प खोजियोस् ।





















Discussion about this post