कञ्चनपुर,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । बहालवाला सांसद समेत रहेकी मगरको नाम बिहिवार एकल सिफारिस भएको हो । ०७४ को आम निर्वाचनमा उनि वाम गठबन्धनबाट उम्मेदवार भएर निर्वाजित भएकी थिईन ।
माओवादीकी मगरले गत निर्वाचनमा ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी कांग्रेस नेता दिवान विष्टले १९ हजार ४३७ मत ल्याएका थिए । दुवैबीच १९ हजार ५ सय ८४ मतको फरक थियो । तर, पछिल्लो समय कांग्रेसले स्थानीय तहमा राम्रो कमब्याक गरेको छ ।
मगर ०७० मा भने कांग्रेस नेता विष्टसंगै पराजित भएकी थिईन । विष्ट अहिले कांग्रेसबाट एकल सिफारिस भएका छन् । यस क्षेत्रमा गठबन्धन नगर्ने कांग्रेसले घोषणा गरिसकेको छ । विष्टले चुनावी तयारी सुरु गरिसकेका छन् । उनका कार्यकर्ताले समेत मगरलाई कुनै पनि हालतमा स्वीकार नगर्ने सामाजिक संजालमा लेखिरहेका छन् ।
मगरको क्षेत्रबाट उनका स्वकिय सचिव समेत प्रदेशसभाका लागि सिफारिस भएका छन् । निर्वाचन क्षेत्र नं. १ क बाट उनका स्वकिय सचिव दिपक तिमिल्सिनासहित कञ्चन गिरी, दिपक बिसी(आर्दश), भक्ता राना र लोकेन्द्र लम्साल प्रत्यक्षमा सिफारिस भएका छन् ।
प्रदेश ख मा भने माओवादीमा लामो समय लागेकाहरु एमाले प्रवेश गरेसंगै माओवादीले अरु पार्टीबाट माओवादीमा आएकाहरुलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ । माओवादीले यो प्रदेशमा कांग्रेस छाडेर माओवादी गएका पुष्कल चौधरी, एमालेबाट आएका राजेन्द्र जोशी र रामलाल रानालाई प्रदेश ख मा प्रत्यक्षमा उम्मेदवारका लागि सिफारिस गरेको छ ।
प्रतिनिधिसभामा कांग्रेसले यो क्षेत्रमा गठबन्धन नगर्ने घोषणासंगै पूर्वमन्त्री समेत रहेकी नेतृ मगर अफ्ठेरोमा परेकी छन् । यसअघि १९ हजार भन्दा बढी मतले विजयी भएकी मगरको कार्यशैलीका कारण धेरै माओवादी कार्यकर्ताले पार्टी छोडेका छन् । माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेकपाका अध्यक्ष वीरबहादुर थापा पातल नै अहिले एमालेमा सक्रिय छन् । उनलाई एमालेले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार बनाएको छ ।
थापासहित प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका तारा लामा तामाङ र खेम सुवेदी एमालेबाट सिफारिस भएका छन् । लामा र थापा दुवै यो क्षेत्रमा जनमत भएका नेताका रुपमा चिनिन्छन् । सुवेदी भने एमालेका पुराना किसान नेता हुन् । लामा यसअघि एकीकृत समाजवादीमा सक्रिय थिए । उनिसहित ठुलो संख्यामा समाजवादीका नेता कार्यकर्ता एमालेमा फर्किसकेकाले पनि यो क्षेत्रमा एमाले बलियो बनेको छ । प्रदेशका अर्का सांसद कुलबिर चौधरी समेत एमालेका फर्केका छन् ।
यो क्षेत्रमा गठबन्धन बन्न निकै अफ्ठेरो हुने देखिएको छ । कांग्रेसले मगरलाई कुनै पनि हालतमा नस्विकार्ने बताइसकेको छ । कांग्रेस नेता विष्ट कोइराला पक्षका नेता हुन् । मगर निर्वाचित भएपछी जिल्ला आउंन छोडेको र तीन वर्ष मन्त्री हुंदा समेत केही काम क्षेत्रको लागि गर्न नसकेको भन्दै आलोचित छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कंचनपुरमा अरु दुई क्षेत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट एनपी साउंद र रमेश लेखक उम्मेदवार छन् ।
विष्टलाई टिकट नदिएको अवस्थामा अरु दुई क्षेत्रमा समेत प्रभाव पर्ने भएकाले उनलाई टिकट दिन दबाव छ । तर, गठबन्धनमा यो क्षेत्रमा माओवादीलाई दिने लगभग सहमति भइसकेको छ । गठबन्धन भएको अवस्थामा समेत मगरलाई यो क्षेत्रका कांग्रेस कार्यकर्ताले सहयोग गर्ने सम्भावना कम भएको कांग्रेसकै कार्यकर्ताहरु बताउंछन् ।
त्यो अवस्थामा त्यसको फाइदा एमालेलाई हुने देखिन्छ । माओवादीकै प्रभाव रहेको बेलौरीमा रेशम चौधरीको नागरीक उन्मुक्ति पार्टीको समेत प्रभाव बढिरहेको छ । उन्मुक्ति पार्टीले पनि मगरको भोट काट्ने सम्भावना बढी छ । उता माओवादीका धेरै अगुवा कार्यकर्ताहरुले उनको साथ छोडिकसेका छन् ।
उनकै नगरपालिकाका माओवादीका स्थानिय नेता पदम पुजाराले समेत मगरको साथ छोडेका छन् । पुजारा एमालेमा प्रवेश गरेर पुर्नवासको मेयरको उम्मेदवार समेत बनेका थिए । यद्यपी उनि पार्टीभित्रको अन्र्तघातका कारण पराजित भएका थिए ।
विनाको क्षेत्रमा चार वटा स्थानीय तह छन् । त्योमध्ये बेलौरी नगरपालिकाको मेयर मात्र माओवादीले जितेको छ । वडामा समेत माओवादीको अवस्था कमजोर छ । यो क्षेत्रमा कांग्रेस पहिलो,एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।
माओवादी केन्द्रमा स्थापित नेताहरु राधाकृष्ण जोशी, मोहन गिरी,कल्पना गिरी,बलदेब बुडाल,यज्ञ कंडेल,रामबहादुर गुरुङ ,खेमराज ओझा,रमेश थापा, र मोहन बडुलगायतले माओवादी छोडिसकेका छन् ।
कंचनपुरमा क्षेत्रिय राजनीति समेत निकै चर्को रहेको बेला यसपटक विनालाई अफ्ठेरो हुने देखिन्छ । उनको पुरानो घर सोलुखोम्बु हो । तर, एमालेका थापा बझाङ र विष्टको पुरानो घर वैतडी हो । यो क्षेत्रमा बझाङगी समुदायको बाहुल्यता छ । त्यसपछि थारुहरुको बाहुल्यता भएको क्षेत्र भएकाले जातिय मुद्दाले समेत चुनावमा प्रभाव पार्ने देखिन्छ ।
Discussion about this post