काठमाडौँ :
मन्त्रिपरिषद् बैठकमा वर्तमान सरकारको एक बर्से काम कारबाहीबारे समीक्षा भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा भए गरेका काम कारबाहीबारे समीक्षा भएको सरकारका प्रवक्ता एव सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्री शर्माका अनुसार बैठकमा सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले विस्तृत प्रस्तुति दिएका थिए । प्रचण्डले सरकारको नेतृत्व सम्हालेको पुस १० मा एक वर्ष पुग्दै छ । ‘हाम्रो सरकारको एक बर्से कार्यकाल पुरा हुँदै छ ।
त्यसमा सामान्य छलफल र समीक्षाहरू भए’, मन्त्री शर्माले बैठकपछि सञ्चारकर्मीसँग भनिन्, ‘गएको एक वर्षमा सरकारले गरेका समग्र कामको पिक अप लिन कतिपय हाम्रा प्रक्रियामा भएका समस्या, इच्छाशक्तिमा भएका समस्यादेखि सुधार गर्नुपर्ने सबै कुराहरूबारे मुख्यसचिवले विस्तृत प्रस्तुति दिनुभयो ।’
उनले सरकारले सोचे जति सफलता प्राप्त गर्न नसक्नुमा कतिपय निर्णय प्रक्रिया, ऐन कानुन, कार्यविधि र नियमावलीले समस्या पारेको भन्दै तिनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको समेत बताइन् ।प्रचण्ड सरकारको एक बर्से कार्यकाल पुरा हुन लागे पनि सरकारले अहिलेसम्म जन पक्षीय निर्णय गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
सरकारका कामकारबाहीप्रति प्रधानमन्त्री प्रचण्ड स्वयं सन्तुष्ट देखिन सकेका छैनन् । मन्त्रीहरूको कार्ड रिपोर्टदेखि कर्मचारीहरूको कामप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्रीले केही दिन अघिमात्रै सचिवसहित मुख्य सचिवहरुलाई बोलाएर कार्यशैलीमा परिवर्तन ल्याउन निर्देशन दिएका थिए । त्यसपछि मुख्यसचिवले मन्त्रालयका सचिवहरूलाई बोलाएर देखिने गरी काम गर्न आठ बुँदे निर्देशन दिएका थिए ।
जसमा सरकारको वार्षिक लक्ष्य पुरा गर्न तत्काल तदारुकता अपनाउन भनिएको थियो ।प्रचण्ड २०७९ पुस १० मा नेकपा एमालेसहित रास्वपा र राप्रपाको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर पछि एमालेसँगको सहकार्य तोड्दै प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धनमा फर्केका थिए ।
रातोपाटी साभार
Discussion about this post