कञ्चनपुर । बेलडाँडीबाट हराएकी एक किशोरीको भारतबाट उद्धार गरिएको छ । बेलडाँडी गाउँपालिका वडा नं. ५ इमलिया घर भएकी १६ वर्षीया किशोरी चैत २ गते घरबाट हराएकी थिइन् ।
खोजतलास गर्दै जाँदा उनी चैत ३ गते गड्डाचौकी नाका हुँदै भारत पसेको तथ्य थाहा हुन आएको थियो । उता भारतमा बस्ने कञ्चनपुरकै कालागौडीकी रिता राना नाम गरेकी महिलाले उनलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी राम्रो रोजगारीको प्रलोभन देखाई मानव तस्करहरूको माध्यमबाट हरियाणा पुगाएको पिडित परिवारजनको भनाइ छ ।
भारतको हरियाणा स्थित एक होटेलमा आफूलाई राखेर ती महिला फरार भएको पिडित किशोरीले बताइन । किशोरी डराएर होटेलबाट बाहिर आई सडकमा रोइ कराइ गर्दा त्यहाँका स्थानीय र प्रहरीले उद्धार गरेको उनी बताउछिन् । त्यसपछि भारतीय प्रहरीले बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थामा बुझाएको र त्यहाँ आफूलाई सुरक्षित वातावरण मिलेको उनको भनाइ छ।
त्यहीँबाट किशोरीको घरपरिवार र नेपाल प्रहरीलाई खबर गरिएको थियो । ती किशोरीलाई महिला एवं बाल विकास विभाग हरियाणाको संरक्षणमा राखिएको जनाइएको छ । नेपाल प्रहरीको सहयोगमा यही चैत २४ गते बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ, वडा सदस्य गौरीदेवी उपाध्याय, इलाका प्रहरी कार्यालय बेलडाँडीमा कार्यरत प्रहरी हवलदार गणेश बोहरा, तरूणदलका नेता नरेश थापा मगर र परिवारका सदस्यहरू समेतको टोली भारतको हरियाणा पुगेर ती किशोरीलाई हिजो नेपाल ल्याइ परिवारको जिम्मा लगाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
Discussion about this post