कञ्चनपुर । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज शनिबार बेलडाँडी लगायत देशभर खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । यस्तै आज देश भर यो दिवस मनाउने क्रममा बेलडाँडी गाउँपालिका कृषि शाखाले धान दिवस मनाउने तयारी गरेको छ अहिले १० बजे शाखाले बेलडाँडी गाउँपालिका नजिक किसानको खेतमा गई धान रोक्ने कार्यक्रम रहेको बेलडाँडी कृषि शाखाले जनाएको छ ।
शाखाका अनुसार यहाँका किसानका समस्या समाधानका लागि साखा लागिपरेको बताउदै आएका छन् । प्रर्याप्त मात्रमा बजेट नहुदा किसानलाई धेरै राहतका कार्यक्रम ल्याउन नसकिएको जनाएका छन् ।
Discussion about this post