बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले गरिखाने सोझासाझा जनजाति किसानबाट प्रदेशको भैसीपालन योजना आफुले पारिदिएको भन्दै नगद र चेक गरि घुस मागेको बिषय यतिबेला चुलिएको छ ।
बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई कमिसन मागेको आरोपको बिषयलाई लिएर बेलडाँडी तातेको छ । उनले गर्ने अनैतिक क्रियाकलापका विरुद्ध बेलडाँडीका ५ राजनितिक दल एकठाउँमा उभिएपछि बेलडाँडी काँग्रेसले ३ सदस्यीय छानविन समिति बनाएको छ । बारम्वार विवादमा आउने उपाध्यक्षका विपक्षमा काँग्रेस भित्र चर्को विरोध हुन थालेपछि काँग्रेसले बाध्य भएर छानविन समिति बनाएको श्रोतले बताएको छ ।
गाउँकार्यसमितिका अधिकांस नेता कार्यकर्ताले उपाध्यक्ष नाथको चर्को विरोध गरेपछि तीन सदस्यी छानविन समिति बनेको हो । नेपाली काँग्रेस बेलडाँडी सभापति गज बहादुर बिष्टका अनुसार हिजो बसेको बैठकले पालिका उपाध्यक्ष शान्ति नाथलाई लागेको आरोप के हो वास्तविक छानविन गर्न नेपाली काँग्रेस बेलडाँडी सचिव धन बहादुर रोकायाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको जनाए । सदस्यमा नरेश धामी र हेमा राना रहेको जनाइएको छ ।
उपाध्यक्ष नाथका यस्ता गतिविधीले बेलडाँडी बेइज्यती हुन थालेकोले आम बेलडाँडीबासीका नजरमा बेलडाँडी काँग्रेस अग्नी परीक्षामा रहेको आम नागरिकको बुझाई छ । उपाध्यक्ष नाथले बारम्वार गल्ती गर्दा समेत काँग्रेसले संरक्षण गरिरहेको आरोप खेपिरहेकोले यतिबेला जनताको लोकप्रिय बन्न कस्ता निर्णय लिन्छ बेलडाँडी बासी हेर्न आतुर भएका छन् ।
उपाध्यक्ष नाथले सत्तामा पुगे देखि अहिले सम्म पैसामुखी बाहेक अन्य कुनै राम्रो कामै नगरेको कर्मचारी श्रोतले जनाएको छ । उनले टिएडिए भत्ता खानका लागि दैनिक फारम पेश गर्ने र कतिपय पहिलेपनि लेखा शाखाबाट उनले पेश गरेका फाईल फालिएका थिए ।
गाडी दुरुपयोग, दोहोरो सुविधा, कम्वल वितरण देखि, राहत वितरण हुदा समेत कागजी प्रक्रिया पछि मिलाएको, नियम विपरित भत्ता खाने सुदूरकै नं.१ जनप्रतिनिधी, आफुलाई तेल बाढ्ने अधिकार भएको कुरा, पद र शुत्तिको दुरुपयोग गर्दै सडकमा घर पास गरी बैंकलाई झुक्याएर ठुलो लोन लिएको कुरा, अनुगमन समितिकी संयोजक भएर ३ लाख आफ्रनो नाममा विद्यालयलाई काट्न लगाए अख्तियारमा मुद्धा परेपछि १बर्ष पछि विद्यालयको पैसा फिर्ता गरेको कुरा लगायत विभिन्न आर्थिक मुखी क्रियाकलाप मात्र गरेको देख्दा स्थानीय देखि नेता कार्यकर्ता समेत हैरान भएका छन् ।
यस विषयमा बेलडाँडीका क्रियाशिल राजनितिक दलहरुले अहिले पालिकामा उपाध्यक्ष नाथलाई पालिका प्रवेश निशेधका कार्यक्रमहरु गरिरहेको छ ।
Discussion about this post