एमाले कञ्चनपुरद्धारा वाढी ताण्डपबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण (पुर्ण पाठ सहित)

कञ्चनपुर । एमाले कञ्चनपुरद्धारा वाढी ताण्डपबारे प्रधानमन्त्री केपीशर्मा ओलीको ध्यानाकर्षण गराएका छन । जिल्लाभरी आएको वाढी, डुवान, कटान क्षतिका विषयमा एमाले कञ्चनपुरका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको ध्यानाकर्षण गराएका हुन ।

एमाले कञ्चनपुरका उपाध्यक्ष जनक राज अवस्थीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई जिल्लाका नेता कार्यकर्ताहरुले बधाई तथा शुभकामना सहित ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार जिल्लाभरी वाढीबाट भएको क्षतिग्रस्थ संरचनाको पुर्ननिर्माण, राहतका कार्यक्तम ल्याउन आब्हान गरेका छन । एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढाले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएकी छिन ।

यस्तो छ ज्ञापन पत्र पुर्णपाठ सहित ः

सम्माननीय प्रधानमन्त्रीज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं ।

प्रतिनिधि सभाको दुईतिहाइ बहुमतको समर्थनमा नेपालको ४५औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा सर्वप्रथम सम्माननीयज्यूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

नयाँ सरकार बन्दै गर्दा यही असार २२ देखि २४ गतेसम्म परेको अबिरल वर्षका कारण कञ्चनपुर जिल्लामा ठूलो जनधनको क्षतिसहित जनतामा परेको विपत्ति लगायत कञ्चनपुर जिल्लाका तपसिल अनुसारका प्रमुख समस्या समाधानको अपेक्षासहित यो माग पत्र प्रस्तुत गरेका छौं।

राहत तथा क्षतिपूर्ति ः

१) ३ दिनसम्म परेको अविरल वर्षाका कारण पुनर्वास नगरपालिका वडा नम्बर ५ का १७ वर्षीया आरती बोगटी, १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सिर्जना बोगटीको मृत्यु भएको छ । कृष्णपुर वडा नम्बर १ मा ७ महिनाको बालक सोनु धानुकको घरभित्र पानी पसी मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ३ को वैवाहाका २२ वर्षीय डम्बर चौधरीसहित ५ जनाको ज्यान गएको छ । जिल्लाभरि ४४ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने ५५७ घरमा क्षति पुगेको छ । ५० वटा चौपायाको मृत्यु हुन गएको छ । हजारौ बिगाहाको बाली नष्ट भई पटान र कटान भएको छ । कुखुरा व्यवसायीहरूका १४ हजार १८ कुखुरा नष्ट भएको तथ्यांक विपद् व्यवस्थापन समितिले संकलन गरेको छ।

मृतकका परिवारलाई क्षतिपूर्ति, घरवारविहीन परिवार, घरभित्र पानी पसी भित्रको खाद्यान्न नष्ट भई वर्षभरिको अन्नविहीन भएका परिवारहरू लगायतमाथि उल्लेखित सबै पीडितहरूलाई यथाशीघ्र उचित राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गर्दछौं । बाढीको क्षति र समाधानका लागि गर्नुपर्ने कार्य ः

१) महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण गर्दा बेलडाँडी गाउँपालिकाको इमिलियाबाट चौधर नदीलाई बस्तीको सिरानीबाट डाइभर्सन गरी महाकाली (शारदा) नदीमा मिसाएको थियो । दक्षिण बगिरहेको नदीलाई पश्चिमतिर मोड्दा पक्की बाँध समेत नबनाई नहरको ड्यामको भरमा गरियो । यस पटकको अविरल वर्षाका कारण नहर भत्किएर नदीको पानी बस्ती पस्यो, जसका कारण बेलडाँडी गाउँपालिकाको इमिलिया, वैवाहा, ढकनिया, खैरीघाट र बेलौरी नगरपालिकाका शिवनगर, भुडा, कानपुर, कलकत्ता, भुराकोट लगायतका बस्तीमा पानी पसेर पूरै जनमग्न हुन पुगेका छन् भने बेलडाँडीका १ जना नागरिक बाढीले बगाएर बेपत्ता भएका छन् । नदीमा पानीको सतह अलिकति बढ्ने बित्तिकै फेरि पानी बस्तीमा जाने र नदीको धार नै बस्तीतिर हुने खतरा रहेकाले स्थानीय जनता त्रासमा बाँचिरहेका छन् । तत्काल कालिकिचदेखि इमिलिया नहरसम्म नदीको पूर्वी किनारामा बाँध निर्माण र भत्किएको नहर पुनर्निर्माण गर्नु अतिआवश्यक छ । डिभिजन सिँचाइ कार्यालय महेन्द्रनगरका अनुसार तत्काल पुनर्निर्माण कार्यका लागि लगभग १२ करोड बजेट आवश्यक छ । यथाशीघ्र बजेटको व्यवस्था गरेर पुनर्निर्माण कार्य गर्न माग गर्दछौं ।

2) जल तथा मौसम विज्ञान विभागका अनुसार २०८१ असार २४ गते बिहान दोधाराचाँदनीको २ हनुमाननगरमा मापन गरिएको ६२४.० मि.मि. वर्षा नेपालकै इतिहासमा सर्वाधिक वर्षा हो। (यसअघि २०७४।०४।२९ गते हेटौंडा केन्द्रमा मापन गरिएको ५१६.२ वर्षा सर्वाधिक थियो । यति ठूलो वर्षाका कारण जगबुडा नदी वडा नम्बर ३ को कार्यालय नजिक, पटारा खल्ला र जामुनघारी गरी ३ स्थानबाट बाढी पसेर पूरै बस्ती जनमग्न हुन पुग्यो। वडा नम्बर ७ र ८ को सिमाना कञ्जभोजबाट,
वडा नम्बर ८ को सुन्दरनगरबाट, वडा नम्बर १० को कृतियाकभर, शान्तिटोल लगायतका ठाउँबाट बाँध नाधेर नदीको पानी बस्ती पस्न गयो र सबै ठाउँ डुबानमा पर्दा ठूलो क्षति हुन पुगेको छ। लगाएको खेतीमाथि बालुवा पटान गरेर अब उपरान्त समेत खेती गर्न नसकिने अवस्था सिर्जना भएको छ।

वडा नम्बर १० को सिमा पिल्लर १८ देखि कृतियाकबरको भारतीय सीमासम्म र वडा नम्बर ७ को कञ्जभोजको पक्की पुलदेखि भारतीय सीमासम्म जगबुडा नदीको दुवैतर्फ बाँध निर्माण गरिनुपर्ने र बाँकीमाथि उल्लेखित बाँध नाघेर पानी बस्ती बसेका सबै स्थानमा बाँधको उचाइ बढाउनुपर्ने देखिएकाले तत्काल काम अगाडि बढाउन माग गर्दछौ ।

कृतियाकबर पूर्व उत्तरतर्फ प्रधान टोल नजिकबाट महाकाली नदीको पानी बाँध नाघेर बस्ती पसेकोले महाकाली नदीको बाँधको पनि उचाइ बढाउनुपर्ने देखिन्छ ।

३) स्याली, बनहरा र मछेली नदीको समिश्रणबाट बन्ने दोदा नदीले पुनर्वास नगरपालिका वडा नम्बर ५ को सिमरी र रातोखाली बस्तीमा पस्दा ३ जना युवतीहरूको ज्यान जानुका साथै खेतीबाली पूरै तहसनहस भएको छ । सिमरी क्षेत्रमा रहेको हुलाकी सडक क्षतविक्षत भएको छ । ठूलो पानी पर्ने वित्तिकै हरेक वर्ष सिमरी क्षेत्रमा बस्तीमा दोदाको पानी पस्ने गरेको छ। यसको दीर्घकालीन समाधानका लागि पुनर्वास नगरपालिकाको वडा नम्बर १ र २ को सिमानादेखि दोदा नदीको चकमली पुलसम्म पानी चढ्ने सबै स्थानमा तत्काल बाँध निर्माण गरिनु आवश्यक छ ।

लालझाडी गाउँपालिकाको वडा नम्बर ४ जाईदेखि बस्तीमा पानी पसेर ३ नम्बर, २ नम्बर र १ नम्बर वडामा डुबान भई घरभित्रको खाद्यान्न नष्ट हुनुका साथै खेतीबाली पटान र कटानका कारण ठूलो संकट आइलागेको छ । यसको समाधानका लागि दोदा नदीको सिरदेखि तिरसम्म तटबन्ध गर्ने गुरुयोजनासहित जनताको तटबन्धको कार्यालय महेन्द्रनगरमा स्थापना गरी काम सुरू गरिएको थियो । माथिल्लो भागमा केही हदसम्म काम भए पनि बजेट अभावका कारण अपेक्षाकृत काम हुन सकेको छैन । यसमा आवश्यक बजेटको व्यवस्था गरी यथाशीघ्र तटबन्ध निर्माण गर्न माग गर्दछौं ।

दोदा नदीको पानी डुंगा, उदयपुर र भकुण्डाबाट पसेर बेलौरी नगरपालिकाका विभिन्न स्थानमा डुबान भएको छ । दोदा नदीको पानी चढ्ने स्थानमा तत्काल तटवन्ध नगर्ने हो भने दक्षिणमा रहेको ऐतिहासिक बैलौरी बजार लगायतको त्यस क्षेत्रको उर्बर भूमि बगर बन्ने खतरा रहेकोले नियन्त्रणका काम अविलम्ब गरिनुपर्ने छ ।

४) कृष्णपुर नगरपालिकाको वडा नम्बर १ का १ जनाको ज्यान जानुका साथै धारापानी खोला, ओदान खोला, खारखोला र बन्द नदीले कटान गरी खेतीयोग्य जमिन बगाइरहेकोले तत्काल तटबन्ध गरिनुपर्ने देखिन्छ । वडा नम्बर १ कै गोजेगडाको स्ल्याभ कल्भर्ट बगाएकाले पुनर्निर्माण गरिनुपर्ने ।

५) बेदकोट नगरपालिकाको सुडा चौराहामा रहेको पूर्वपश्चिम राजमार्गको पुल भत्किएकाले तत्काल पुनर्निर्माण गरिनुपर्ने । वडा नम्बर ४ को सार्की–पार्की टोलमा, वडा नम्बर ६ मा पालिका भवनको संरक्षणका लागि सिसैयामा र वडा नम्बर १० मा चौधर नदीले कटान गरिरहेकोले तटबन्ध गरिनुपर्ने । सुन्दरपुरमा बनकट्टी खोलामा तटबन्ध गरिनुपर्ने। वडा नम्बर १ र २ मा राधा नदी र पथरिया नदीमा तटबन्ध गरिनुपर्ने ।

६) भीमदत्त नगरपालिकाको चुरे क्षेत्रबाट आउने रौतेला र कामीकाटे खोलाको पानी बस्तीमा पसेर बडा नम्बर १, २, ३, ६, ७, ८, ४, १५ र १८ को विभिन्न स्थानमा बाढी र डुबानको गम्भीर समस्या उत्पन्न भएकाले रौतेला र कामीकाटे खोलामा तटबन्ध निर्माण गरिनुपर्ने। वडा नम्बर ११, १२, १३ र १६ मा पानीको निकास गरिनुका साथै महाकाली किनारमा तटवन्ध गरिनु पर्ने । भुजेला खोलालाई वडा नम्बर ११ र १२ को सीमा नजिकबाट महाकाली नदीमा मिसाइएकोमा महाकाली नदीले धकेल्ने गरी उल्टै गम्भीर प्राविधिक त्रुटि देखिएकाले अध्ययन गरी समाधान खोजिनुपर्ने र खोलाको पानी नदीमा निकास हुने गरी डाइभर्सज गरिनुपर्ने। वडा नम्बर ४ र १८ को बजार क्षेत्रमा ढल निकासको उचित व्यवस्थापन गरिनुका साथै वडा नम्बर १९ मा चौधर नदीले कटान गरिरहेकाले नियन्त्रण गरिनुपर्ने ।

७) शुक्लाफाँटा नगरपालिकामा रहेको स्याली नदी र सुनवरा नदीको पानी किनारका बस्तीहरूमा पसेकोले समयमै नियन्त्रण गरिनुपर्ने ।

यसरी जिल्लाभर यस पटकको विनाशकारी वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै जनजीवन अस्तव्यस्त हुन पुगेको छ । महाकाली सिचाईको नहर गड्डाचौकी देखी बेलौरी सम्म विभिन्न स्थानमा फुति सकेको छ। नदि कटान र नहर पुनर्निमाणको कार्य तत्कालै गर्न नसकिए वर्षा हुने बित्तिकै फेरि बिकराल अवस्था निम्तिन सक्ने अवस्था रहेको छ । यस्तो अवस्थामा नेपाली राजनितिमा सम्पूर्ण जनताको आशा र भरोसाको केन्द्रको रूपमा रहनुभएको राजनेताको नेतृत्वमा सरकार गठन भएको हुँदा बिचल्लीमा परेका कञ्चनपुरवासीको समस्या सरकारले यथाशीघ्र सम्बोधन गरी समाधान हुनेछ भन्ने अपेक्षा गरिएको छ । सम्माननीयज्यूबाट स्थलगत अनुगमनसहित सम्बोधनका लागि माग गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित