काठमाडौँ । भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना पछि नेपाली सेनाले त्यसको जाँच गरिरहेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलकाअनुसार दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टा मै बम रहेको सूचना आएको थियो ।
उनकाअनुसार बम रहेको सूचना पछि आकाशमा झण्डै एक घण्टा उक्त जहाज १५७ यात्रु लिएर उडिरहेको थियो । एक अज्ञात नम्बरबाट काठमाडौँमा भारतीय विमानको सुरक्षा जाँच गर्ने सुरक्षा अधिकारीको मोबाइलमा कलसाईन यूके १५५ को जहाजमा बमको सूचना पठाएका थिए ।
सो सूचना जहाज दिल्लीबाट उडेको १ घण्टामै आएको र उक्त सूचना पछि विमानस्थललाई उच्च सुरक्षा निगरानीमा राखेर जहाजको सकुशल ल्यान्ड गराइएको भुलले बताए । जहाज सकुशल ल्यान्ड भएपछि अहिले नेपाली सेनाद्वारा सुरक्षा जाँच भइरहेको छ । ‘जहाजलाई सुरक्षित र अलग्गै राखेर नेपाली सेनाबाट सुरक्षा जाँच भइरहेको छ,’ भुलले भने,‘ जहाज र समानको नेपाली सेनाको बम डिस्पोजल टोलीबाट जाँच भइरहेको छ ।’
भुलकाअनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको छ । यात्रुका झोला तथा सामानहरु सहितको विमानलाई अलग्गै राखेर अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गरिरहेको छ ।
बम रहेको सूचना पछि विमानस्थलमा नेपाली सेनाको विशेष सुरक्षा तैनाथी गरिएको थियो । अहिलेसम्म सूचना भनिए जस्तो कुनै वस्तु फेला परेको छैन् ।
Discussion about this post