केशव थापा/बेलडाँडी, ८ कार्तिक । बेलडाँडीमा हुने टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । बेलडाँडी युवा समाजले दीपावलीको पावन अवसर पारेर भोलि शुक्रबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो । बेलडाँडी गाउँपालिका वडा नम्बर १ स्थित लल्लरेडाँडामा सञ्चालन हुने प्रतियोगिताका लागि २० टिम दर्ता भएको आयोजक बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले बताउनुभयो । बिहीबार दिउँसो ट्रफी सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम गरी त्यस विषयमा जानकारी गराइएको छ ।
प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बताउँदै उहाँले शुक्रबार बिहान ०९ बजेदेखि प्रतियोगिता उद्घाटन गरिने जानकारी दिनुभयो । पहिलो दिनको पहिलो खेल बिहान १० बजे अमृत डिजे एण्ड टेन्ट हाउस र प्रगति एकता समाजबिच हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे श्री केदार र बि–४ वैवाहबिच हुने बताइएको छ । भारतसँग जोडिएको खुल्ला सिमाना भएकोले युवाहरूलाई लागु औषधबाट मुक्त गराई खेल क्षेत्रमा आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ । प्रतियोगिताको विजेता टिमले पुरस्कार स्वरूप नगद रु. ५५ हजार ५ सय ५५ का साथै ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले जनाएको छ । बेलडाँडी युवा समाजले दोस्रो पटक टी–२० बेलडाँडी क्रिकेट मेला आयोजना गर्न लागेको हो ।
Discussion about this post