माधव पौडेल,बेलौरी, २० कार्तिक । कञ्चनपुरको बेलौरीमा रामलिला सुरु भएको छ । लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सत् चरित्रका लागि आज मंगलबार देखि रामलिला सञ्चालन गरिएको बेलौरी सांस्कृतिक तथा रामलीला समितिले जनाएको छ ।
समितिका अध्यक्ष दिनेश कुँवरका अनुसार भगवान् रामचन्द्रको जीवन कथामा आधारित रामलिला बेलौरीको खुलामञ्चमा सञ्चालन गरिएको जनाए । धार्मिक सहिष्णुता, सामाजिक एकता र सद्भाव कायम राख्नका लागि रामलीला मञ्चन गर्न लागिएको र मङ्सिर १ गतेसम्म रामलीला मञ्चन गरिने समितिका अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको रामलिला उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, वडाध्यक्ष लगायतका जनप्रतिनिधि सहित विभिन्न पेसाकर्मी लगायत भक्तजनहरूको भव्य उपस्थिति रहेको आयोजक समितिका सचिव रामेश्वर न्यौपानेले जानकारी दिनुभयो ।
रामलीला समितिका सल्लाहकार डा.भूपेन्द्र सिंह बिष्टले झण्डै तीन दशकपछि बेलौरीमा रामलीला मञ्चन हुन लागेकोमा खुसी व्यक्त गर्दै सबैले यसलाई सफल पार्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन समारोहका वक्ताहरूले रामलीलालाई भव्यताका साथ आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, रामलीला मञ्चनका विज्ञ डा. भूपेन्द्र सिंह बिष्ट, प्रेमसिंह बोहरा, गोपाल सिंह गुरुङ लगायतको टिमबाट प्राप्त हौसला र प्रोत्साहनले रामलीला महोत्सव सञ्चालन गरिएको अध्यक्ष कुँवरको भनाइ छ । रामलीला मञ्चनका लागि बेलौरी नगरपालिका कार्यालयले समेत आर्थिक सहयोग गर्ने जनाएको छ ।
Discussion about this post