सुवर्ण प्रशाद जोशी/कञ्चनपुर, २९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षमा सुरेश सिह धामी निर्वाचित भएका छन । पत्रकार महासंघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा धामी अध्यक्षमा निर्वाचित भएका हुन ।
प्रेस चौतारीका उम्मेदवार धामीले प्रेस सेन्टरका उम्मेदबार राजेन्द्र प्रशाद अवस्थीलाई १२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । धामीले ५८ र अवस्थीले ४८ मत ल्याएका छन ।
प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका धामी प्रेस यूनियन र चौतारीका साझा उम्मेदवार थिए । उपाध्यक्षमा प्रेस यूनियनका अमर बहादुर चन्द निर्वाचित भएका छन । प्रेस यूनियनका चन्दले सेन्टरबाट उम्मेदवार दिएका रमेश प्रशाद भट्टलाई ३१ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन । चन्दले ६६ र भट्टले ३५ मत ल्याएका थिए । प्रेस युनियनबाटै उपाध्यक्षमा उम्मेदवारी दिएर पछि फिर्ता लिएका शेर बहादुर सिहले २ मत ल्याएका थिए ।
महिला उपाध्यक्षमा धर्मा रोकाया निर्वाचित भएका छिन । प्रेस चौतारीकी रोकायाले प्रेस सेन्टरकी चन्द्रिका चौधरीलाई ३३ मतको अन्तरले हराउँदै महिला उपाध्यक्षमा निर्वाचित भएका छिन । रोकायाले ६४ र चौधरीले ३१मत ल्याएकी छिन ।
सह-सचिवमा गोकुल जोशी निर्वाचित भएका छन । उनले आफ्ना प्रतिस्पर्धी चन्द्रकान्त जोशीलाई १८ मतको अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका छन । गोकुलले ५६ र चन्द्रकान्तले ३८ मत ल्याएका थिए ।
प्रेस यूनियन र चौतारीका साझा उम्मेदवार चन्द्रकान्तलाई प्रेस यूनियनकै नेता भएपनि गोकुल स्वतन्त्र रुपमा चुनावी मैदामा होमिएका थिए । अर्का सह सचिवका उम्मेदवार महादेव अवस्थीले ४ मत ल्याएका थिए ।
यद्यपी अवस्थीले पनि उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारी फिर्ता घोषणा गरेका थिए । कोषाध्यक्षमा प्रेस सेन्टरका मोहन विष्टले प्रेस चौतारीका लक्ष्मण पन्तलाई ४मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । विष्टले ५५ र पन्तले ५१मत ल्याएका थिए ।
यस अघि सचिवमा प्रेस यूनियनमा कुन्दन राज पाण्डेय, सह सचिवमा प्रेस यूनियनकै किशोर कुमार तामाङ्ग र महिला सदस्यमा प्रेस यूनियनकै ऐश्वर्या कुँवर निर्बिरोध निर्वाचित भएका छन ।
दलित सदस्यमा प्रेस चौतारीका धन बहादुर विक निर्वाचित भएका छन । विकले प्रेस सेन्टरका खडक कोलीलाई २मतको अन्तरले हराउँदै निर्वाचित भएका छन । विकले ५२ र कोलीले ५० मत ल्याएका थिए ।
आदिवासी जनजाती सदस्यमा प्रेस यूनियनका दान सिह डगौरा निर्वाचित भएका छन । डगौराले प्रेस सेन्टरका नरेश रानालाई २८ मतको अन्तरले हराउँदै सदस्यमा निर्वाचित भएका छन । डगौराले ५९ र रानाले ३१ मत ल्याएका थिए । यस्तै खुला सदस्य तर्फ केशव भट्ट सर्वाधिक ७९ मतका साथ निर्वाचित भएका छन ।
दिनेशराज ओझा ५७, धन बहादुर महता (विकास सिह महता) ५४, भवानी दत्त भट्ट(भुवन) ६३, माधव पौडेल ५६, सुजित सिनाल ७४, सुरेश भट्ट ६९ र हरिलाल जोशी ५२मतका साथ निर्वाचित भएका छन ।
पत्रकार महासंघ तीनै तह निर्वाचन कञ्चनपुरका लागि निर्वाचन संयोजकमा लक्ष्मी प्रशाद जोशी, सदस्यमा अधिवक्ताद्वय यज्ञराज जोशी, प्रकास पाण्डेय रहेका छन ।
Discussion about this post