बेलडाँडी-बेलौरीमा आयोजना गरिएको प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिताको उपाधि लालझाडी गाउँपालिका वडा नम्बर १ नवज्योती युवा क्लबले उचालेको छ । भने उपविजेता लालझाडी गाउँपालिका वडा नम्बर २ विष्णु युवा क्लब बनेको छ ।
प्रतियोगितामा प्रथम भएको नवज्योतिले रु. ३० हजार र द्वितीय भएको विष्णुले रु. २० हजार पुरस्कार प्राप्त गरेको बेलौरी नगरपालिका वडा नम्बर ४ स्तरीय खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईँले जानकारी दिनुभयो । खेलकुद प्रतियोगिताका क्रममा हुने विवाद र पक्षपातलाई पूर्ण रूपमा निस्तेज गरी निष्पक्ष र निर्विवाद खेल सञ्चालन गर्न सूचना, सञ्चार र प्रविधिको नयाँ अभ्यास गरिएको उहाँको भनाइ छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा आइतबार साँझदेखि रातिसम्मै सञ्चालन गरिएको थियो । खेलको प्रमुख निर्णायकका रूपमा ज्ञानेन्द्र गौतम तथा सहायक निर्णायकका रूपमा हिमाल श्रेष्ठ तथा रमेश रावल र मनोज भट्टले सहयोगी भूमिका निर्वाह गर्नुभएकोमा आयोजकले कदर गरेको छ ।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले पेनाल्टी सुट गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटन लगत्तै सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख चौधरीले बेलौरीको इतिहासमै पहिलो पटक रात्रिकालीन पेनाल्टी सुट आउट भइरहेको र खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा आयोजक सहित २२ टिमको सहभगिता रहेको थियो । प्रतियोगितालाई निष्पक्ष र पूर्ण रूपमा सफल पार्न सहयोग गर्ने सबैलाई आयोजकको तर्फबाट वडाध्यक्ष ढकालले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । प्रतियोगिता सञ्चालनकै क्रममा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बेलौरीका खेलाडीहरूलाई सम्मान पत्र प्रदान गरिएको छ । लक्ष्मण दियाल र तेज बहादुर चन्दले प्रतियोगिताको सहजीकरण गर्नुभएको थियो ।
Discussion about this post