महेन्द्रनगर । कञ्चनपुरमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुलबाट हिजो शुक्रबार एक ऐतिहासिक घडीमा महिलाहरुले एकता र सशक्तिकरणको सन्देश दिएका छन् । सुदूरपश्चिमेली भाकामा देउडा खेल्दै रमाइलो गर्दै, ’महिलावादी अनुपन अभियान’को दोस्रो चरणको अभियान सुरुवात गरिएको हो ।
अभियानको मुख्य उद्देश्य महिलाको सशक्तिकरण र समतामूलक समाजको निर्माण गर्नु हो । यो अभियान महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै, राज्यका हरेक निर्णायक तहमा समान प्रतिनिधित्व ल्याउने लक्ष्य राख्दछ ।
अभियान विशेषगरी आगामी २०८४ को निर्वाचनमा महिलाको नेतृत्वलाई सुनिश्चित गर्नका लागि सुरु गरिएको हो । ’महिला नै पहिला’ भन्ने नारा सँगै महिलाहरु हातमा हात मिलाउँदै एकजुट भएका छन् । कञ्चनपुरकी महिला नेत्री सिता बोहराका अनुसार, “यो अभियान महिलाको अधिकार र नेतृत्वको लागि हो, हामी एकजुट भएर समतामूलक समाजको निर्माण गर्न लागेका छौं ।“
अभियानमा भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहरा पनि सहभागी भएका थिए । उनले अभियानकर्ताहरु प्रति आभार प्रकट गर्दै, “यो अभियान महिला सशक्तिकरणको लागि एक ऐतिहासिक कदम भएको बताएका छन् । म यसलाई पूर्ण समर्थन गर्दै अभियानमा साथ दिन्छु,“ उनले भने ।
यो अभियान २०८० सालदेखि निरन्तर सञ्चालन भइरहेको छ र आगामी २०८४ सम्म चल्नेछ । अभियानको लक्ष्य भनेको राज्यका हरेक तहमा महिलाको समतामूलक र प्रतिनिधि सहभागिता ल्याउनु हो, जसले आउँदो निर्वाचनमा महिलालाई नेतृत्वको भूमिका सुनिश्चित गर्न सहयोग पु¥याउनेछ । अभियानको यात्रा झोलुङ्गे पुलबाट शुरु भएको हो र १३ गते काठमाडौं पुग्ने योजना रहेको जनाइएको छ ।





















Discussion about this post