काठमाडौं– गृहमन्त्री रमेश लेखकले पत्रकारितालाई लोकतन्त्रको संरक्षकको रूपमा प्रस्तुत गर्दै निष्पक्ष र सत्यमा आधारित पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।
आज सिंहदरबारस्थित गृहमन्त्रालयमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै गृहमन्त्री लेखकले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाए। उनले भने, “निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा हो र यसले समाजलाई साँचो जानकारी प्रदान गर्दै लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छ।”
पत्रकारिताले मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्ने कुरामा गृहमन्त्री लेखकको विशेष जोड थियो। उनले पत्रकारिता र पत्रकारहरूको हक र स्वतन्त्रता सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पनि पत्रकार महासङ्घको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिन्। साथै, शर्माले प्रेस स्वतन्त्रता हननमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न गृहमन्त्रीसँग ध्यानाकर्षण पत्र बुझाएकी थिइन्। उनले प्रेस स्वतन्त्रता र अधिकारको रक्षा गर्न सरकारलाई आग्रह गर्दै पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्।
यो बैठकले पत्रकारिता र लोकतन्त्रको सम्बन्धलाई अझ बलियो बनाउने र पत्रकारहरूको अधिकारको रक्षा गर्न थप कदम चालिने अपेक्षा गरिएको छ।
Discussion about this post