लाल बहादुर एस.के./पुनर्वास, माघ १४ । पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीले विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विद्यालयस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुनर्वास नगरपालिकाभित्रका निजि तथा सामुदायिक विद्यालयका छात्रातर्फ १० टिम र छात्रतर्फ १६ टिमले सहभागिता जनाएका थिए। एसपिएल एकेडेमीका प्रिन्सिपल खगेन्द्र जोशीका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
प्रतियोगिताको छात्रतर्फ प्रथम स्थान पुनर्वास–२, मोतिबस्तीस्थित सरस्वती माध्यमिक विद्यालयले हासिल गरेको छ। विजेता टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो। द्वितीय स्थानमा एसपिएल एकेडेमी रहेको छ, जसले नगद ८ हजार रुपैयाँ प्राप्त गर्यो। त्यस्तै, सिद्धार्थ पब्लिक स्कूल तृतीय स्थानमा रहँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो।
छात्रातर्फ गौरीशंकर माध्यमिक विद्यालय प्रथम, जनता माध्यमिक विद्यालय द्वितीय र युगज्योति एकेडेमी तृतीय स्थानमा रहेका छन्। विजयी टिमलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको थियो।
सरस्वती माध्यमिक विद्यालयका खेल शिक्षक शिवबहादुर पाण्डेका अनुसार विद्यालयले लामो समयदेखि समूहगत खेलहरूमा उत्कृष्टता हासिल गर्दै आएको छ। उनले भलिबल, कबड्डी र अन्य खेलकुदका माध्यमबाट विद्यालयले खेलकुद क्षेत्रमा आफ्नो पहिचान कायम गरेको बताए।
प्रतियोगिताको टिम दर्ता निःशुल्क राखिएको जानकारी दिँदै प्रिन्सिपल जोशीले विद्यार्थीलाई पढाइसँगै खेलकुदमा पनि सक्रिय बनाउन यस्ता कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने बताए।
विद्यालयस्तरीय भलिबल प्रतियोगिताले खेलकुदप्रति विद्यार्थीको रुचि बढाउने मात्र नभई स्वस्थ प्रतिस्पर्धाको विकास गराउने विश्वास भलिबल शिक्षक प्रशिक्षक समेत चिनिनुभएका सरस्वती माविका शिक्षक जयबहादुर चन्दले बताउनुभयोको थियो ।






















Discussion about this post