सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आजदेखि महेन्द्रनगरमा सुरु

कञ्चनपुर, माघ १५ । आजदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु हुँदैछ। नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा सञ्चालन हुने महोत्सव दिउँसो १ बजे औपचारिक रूपमा उद्घाटन गरिनेछ।

“साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाको पहिचानसहित समृद्ध र सुसंस्कृत समाज निर्माण” भन्ने मुख्य नाराका साथ आयोजित यो महोत्सवले सुदूरपश्चिमको कृषि, पर्यटन र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

महोत्सवमा १५० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा लघु उद्यम, अटो, कृषि प्रदर्शनी, गार्मेन्ट, वैकल्पिक ऊर्जा, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, शिक्षा, बाल उद्यान, र स्वास्थ्य सेवाका प्रदर्शनीहरू समावेश छन् । साथै, सुदूरपश्चिमका थारु र पहाडी समुदायका परम्परागत मौलिक परिकार, कला र छुट्टै थारु गाउँको झल्को दिने विशेष स्टलहरू पनि आकर्षणको केन्द्र हुनेछन् ।

महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति, अन्तरविद्यालयीय नृत्य प्रतियोगिता, र सुदूरपश्चिमको लोक संस्कृति झल्किने कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।

महोत्सवबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिनेछ। टिकटबाट संकलित रकमको एक हिस्सा नेपाल आमाको मूर्ति निर्माण, पत्रकार महासंघ कञ्चनपुरको अक्षयकोष स्थापना र समाज कल्याण बाल अनाथालयका लागि छुट्याइएको छ।

महोत्सवले कोरोना महामारीपछि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न र कृषकहरूलाई आधुनिक कृषि विधितर्फ आकर्षित गर्न मद्दत पुर्‍याउने लक्ष्य राखेको छ। नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुका अनुसार, महोत्सवमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ४० र साधारणलाई ८० रुपैयाँको टिकट शुल्क तोकिएको छ। अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ।

माघ २६ गतेसम्म चल्ने यस महोत्सवले सुदूरपश्चिमको कृषि, पर्यटन र सांस्कृतिक क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित