बिकाश सिंह महता/माघ १५ , कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास फुटबलमय बनेको छ। मंगलबार पुनर्वास नगरपालिका वडा नं. १, वीर बलभद्र बस्तीमा न्यू बिरेन्द्र युवा क्लबको आयोजनामा चौथो ‘द फोर्स कप’ खुल्ला फुटबल प्रतियोगिता २०८१ को उद्घाटन गरिएको छ।
प्रतियोगिताको उद्घाटन वडा नं. १ का अध्यक्ष मोहन लाल रानाको प्रमुख आतिथ्यमा कान्छा लामा तामाङ सभापतित्वमा सम्पन्न भयो। उद्घाटनका क्रममा गोर्खा रेजिमेन्ट र न्यू बिरेन्द्र युवा क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो। न्यू बिरेन्द्र युवा क्लबले २-० को जित निकाल्दै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको कोषाध्यक्ष जित बहादुर तामाङले जानकारी दिए।
प्रतियोगिताका विजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र हात पार्नेछन्। उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछन्। खेलाडीहरूको मनोबल बढाउन उत्कृष्ट खेलाडी, गोलकिपर, र सर्वाधिक गोलकर्तालाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको सचिव मोन्चा तामाङले जानकारी दिए।
कोषाध्यक्ष तामाङका अनुसार प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग मुख्य भएको छ। लामा परिवारले उपविजेताको पुरस्कार प्रायोजन गरेर प्रतियोगिताको सफलतामा सहयोग पुर्याएका छन्।
प्रमुख खेलहरू माघ १८ गतेदेखि सुरु हुनेछन्। आयोजक न्यू बिरेन्द्र युवा क्लबका अनुसार प्रतियोगिता दक्षिणी क्षेत्रका प्रतिभावान खेलाडीहरूको प्रदर्शनका लागि ठूलो मञ्च बन्ने अपेक्षा गरिएको छ।
Discussion about this post