कञ्चनपुर, माघ १६– कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटामा स्थित भगवती सामुदायिक वनको २२औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सामुदायिक वनको उपभोक्ता समूहले आयोजना गरेको यस सभामा अध्यक्ष केशव धामीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन र पर्यावरण संरक्षणका साथै सामुदायिक विकासका विभिन्न कार्यक्रमहरूको उल्लेख गरे ।
अध्यक्ष धामीका अनुसार, सामुदायिक वनले उपभोक्ताका आधारभूत आवश्यकता पूरा गर्न काठ दाउरा वितरणमा ठूलो वृद्धि गरेको छ । विगतमा ५ सय हाराहारी क्युफिट काठ वितरण गर्दा अहिले उक्त वितरण २ हजार हाराहारी पु¥याएको जानकारी दिए । साथै, उपभोक्ताको माग अनुरूप वनमा कार्य योजना तयार गरेर बृक्षारोपण, तारबार, सडक स्तरोन्नति, मठ मन्दिर क्षेत्रको विकास लगायतका कार्यक्रमहरू पनि अघि बढाइएको छ ।
धामीले सामाजिक दायित्वको तहत एकल महिलालाई निःशुल्क काठ वितरण, घाँस काट्ने मेसिन वितरण, सडक बत्ति जडान, वडादेखि सामुदायिक विद्यालयमा फर्निचर वितरण, मठमन्दिरका क्षेत्रमा सहयोग र समाजिक कार्यहरूको पनि उल्लेख गरे। वनमा मानव र बन्यजन्तु बीचको द्वन्द्व कम गर्नका लागि सचेतना कार्यक्रमहरू संचालन गरिएका छन् ।
सामुदायिक उपभोक्ताका लागि आर्थिक बृद्धिका लागि बेदबाँसका डोका, सुपो जस्ता उत्पादनहरू निर्माण गरिएको छ र गैर उपभोक्ताहरूसम्म पनि काठ वितरण गरिएको जानकारी दिइएको छ। आगामी वर्षमा थप बृक्षारोपण गर्दै उपभोक्ताहरूको दाउरामाथिको भार घटाउन ग्याँस चुलो वितरण र मूहान संरक्षण कार्यक्रमहरू गरिने बताइएको छ ।
साधारण सभामा सामुदायिक वनका संस्थापक अध्यक्ष रुद्रसिह ठगुन्ना, पूर्व अध्यक्ष गणेश ठगुन्ना, स्व. संस्थापक सदस्य गज ब. धामी, गोबिन्द क्षेत्री, मानसिह धामी र अन्य सरक्षणकर्मीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका क्षेत्रीय वन निर्देशक हेमराज विष्ट र शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरा लगायतका सरोकारवाला प्रतिनिधिहरूले सामुदायिक वनको विकास र सरक्षण कार्यमा योगदानको सराहना गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सामुदायिक वनका सचिव धनमाया कुमारी धामीले वन सरक्षणका क्षेत्रमा गरेको महत्त्वपूर्ण कामहरूको जानकारी दिइन्। यस अवसरमा सरोकारवाला निकायका प्रतिनिधिहरू र वन सरक्षणकर्मीहरूको सहभागिता रहेको थियो ।
भगवती सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताका हकहित र सामुदायिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाइएको छ ।
Discussion about this post