बेलौरी, कञ्चनपुर – नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले बेलौरी वितरण केन्द्रबाट आपूर्ति हुने क्षेत्रहरूमा हिजो देखि चार दिनसम्मका लागि विद्युत सेवा अवरुद्ध हुदै आएको छ।
प्राधिकरणका अनुसार गर्मीयाम र हावाहुरीको समयमा नियमित रूपमा हुने अनियमित विद्युत आपूर्ति तथा न्यून भोल्टेज समस्याको सुधार कार्य गर्न लालपुर १३२/३३/११ के.भी. सब-स्टेशनदेखि कलुवापुर ३३/११ के.भी. सब-स्टेशनसम्म ३३ के.भी. लाइनको कन्डक्टर अपग्रेड गर्न लागिएको हो।
१६ गते बुधवार देखि १९ गते सनिवार सम्म बिहान ९देखि ५ बजे सम्म सेवा अवरुद्ध रहने जनाईएको छ ।
विद्युत लाइन सुधार कार्यको लागि सम्बन्धित ठेकेदारले माग गरेको समय अनुसार तोकिएको मिति र समयमा बेलौरी वितरण केन्द्रबाट आपूर्ति हुने सम्पूर्ण स्थानहरू—पुर्नवास, बेलौरी, लालझाडी र बेलडाडी गाउँपालिका—प्रभावित हुँदै आएको छ ।
प्राधिकरणले मौसम अनुकूल रहेसम्म तोकिएको समयमा विद्युत सेवा बन्द रहने बताएको छ। साथै, निर्धारित समयभन्दा अघि नै काम सम्पन्न भएमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिने समेत जनाएको छ।
विद्युत प्राधिकरणले सेवा अवरुद्ध हुने समयमा लाइन नजिक कुनै पनि कार्य नगर्न अनुरोध गर्दै ग्राहकहरूलाई पर्न जाने असुविधाप्रति क्षमायाचना व्यक्त गरेको छ।
Discussion about this post