सामाजिक सञ्जाल दर्ता नभए नेपालमा प्रतिबन्ध : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूको दर्ता अनिवार्य गर्ने सरकारको तयारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् ।

नेपाल टेलिकमको वार्षिक उत्सवमा बोल्दै मन्त्री गुरुङले जुनसुकै सामाजिक सञ्जाल नेपालमा दर्ता नभएमा सञ्चालन हुन नदिने बताएका हुन् । उनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको सञ्चालक कम्पनी मेटालाई नेपालमा दर्ता गर्न बोलाइएको तर मेटाले अहिलेसम्म कुनै ठोस प्रतिक्रिया नजनाएको बताए । मन्त्री गुरुङले भने, “हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्ट्याक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौं ।“

सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको बचाउ गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालहरू अराजक बन्दै गएकाले त्यसलाई नियमन गर्न आवश्यक रहेको बताए । उनका अनुसार सामाजिक सद्भाव भत्काउने, धार्मिक सहिष्णुतामा असर पार्ने तथा समाजलाई नकारात्मक रूपमा प्रभावित गर्ने सामग्रीहरूको नियन्त्रण आवश्यक छ । “हाम्रो सामाजिक सद्भाव भत्काउने, धार्मिक सहिष्णुता खल्बलाउनेलाई हामी रोक्न चाहन्छौँ, त्यसैले विधेयक आवश्यक छ,“ मन्त्री गुरुङले भने ।

सरकारले सामाजिक सञ्जाललाई विधिवत रूपमा नियमन गर्ने नीति अपनाए पनि कतिपय पक्षहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् । अब सरकारको नीति कति प्रभावकारी हुन्छ र सामाजिक सञ्जाल कम्पनीहरूले नेपाल सरकारको अनुरोधलाई कति गम्भीर रूपमा लिन्छन् भन्ने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित