बेलडाँडी– बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत चवन्नी बजारदेखि कालिकिचसम्म जोड्ने सडक निर्माण कार्य अघि बढ्न लागेको छ।
गाउँ कार्यपालिकाको मिति २०८१ साल माघ २ गते बसेको बैठकको निर्णयअनुसार महेश पाण्डेको जमिनदेखि चवन्नी बजार हुँदै कालिकिचसम्मको नक्साअनुसारको सडक खोलिने भएपछि व्यापारीहरूले धमाधम गोदाम तथा दोकान खाली गर्न थालेका छन् ।
पालिकाले यही माघ १३ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र सडकछेउका संरचना हटाउन आग्रह गरेको थियो। सो सूचनापछि ठूला व्यापारीहरूसहित केही साना व्यवसायीहरूले पनि सहमति जनाउँदै नक्साभित्र परेका संरचना हटाउनका लागि खालि गर्न लागेको चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले बताउनु भयो ।
खत्रीका अनुसार भविष्यलाई ध्यानमा राख्दै चवन्नी बजारका व्यवसायीहरूले नक्साअनुसारको बाटो खोलिदिन अनुरोध गरेका थिए। तोकिएको समयभित्र संरचना हटाउन सबैलाई आग्रह गर्दै उनले भने, “यदि कसैले नियम उल्लंघन गर्छ भने त्यसको परिणाम उसैले भोग्नुपर्नेछ, त्यसैले माघ २८ गतेभित्र तोकिएको क्षेत्र खाली गरिदिन पुन: अनुरोध गरे ।”
पालिका र व्यवसायीहरूको सहकार्यमा अघि बढाइएको यो निर्णयले बजार क्षेत्रलाई व्यवस्थित बनाउन र कालिकिच तालसम्मको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानीयहरू पनि निर्णयबाट हर्षित छन्। उनीहरूले नक्साअनुसारको बाटो खुल्दा बजार थप व्यवस्थित हुने र पर्यटकहरूको आवागमन सहज हुने बताएका छन्।
पालिकाले यो कामलाई सफल बनाउन सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेको छ। यस निर्णयले क्षेत्रको भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै स्थानीय बासिन्दाले पनि पालिकाको कदमको स्वागत गरेका छन्।


















Discussion about this post