बेलडाँडी । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारदेखि मुख्य पर्यटकीय गन्तव्य कालिकिच र शुक्लाफाँटा जोड्ने नक्साको सडक विस्तारका क्रममा विवाद उत्पन्न भएको छ । स्थानीय ठूला व्यक्तिहरूले नक्साअनुसारका संरचना हटाउन आनाकानी गरिरहेका छन्, जबकि गरिब भूमिहीनहरूले आफ्ना संरचना स्वेच्छिक रूपमा हटाइसकेका छन् । तर, ठूला नेताहरू र कर्मचारीका संरचना अझै पनि यथावत् रहेको भन्दै क्रान्तिकारी युवा संगठन नेपालका प्रदेश ईन्चार्ज दिपेन्द्र ऐरीले आपत्ति जनाएका छन् ।
प्रदेश ईन्चार्ज ऐरीका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व हो । उनले भीमदत्त नगरपालिकामा नगर विकासको जमिन अतिक्रमण हटाउने प्रयास र बेलडाँडी नक्साको सडक खोल्ने विषयमा प्रशासनले आवश्यक सुरक्षा व्यवस्था गर्न आनाकानी गरेको आरोप लगाए ।
ऐरीले सामाजिक सञ्जालमा लेख्दै भने, “कञ्चनपुर जिल्लाको प्रशासन कार्यालयमा नारायण प्रसाद सापकोटा प्रमुख छन्, तर उनले आफैले गरेका निर्णय कार्यान्वयन गर्नेतर्फ ध्यान नदिई संसदीय राजनीतिका नेताहरूको अनुकूलतामा मात्रै काम गरिरहेका छन् ।“ उनले प्रमुख सापकोटाको गैरजिम्मेवार व्यवहारप्रति असन्तुष्टि जनाउँदै नैतिक रूपमा राजीनामा दिनुपर्ने माग गरेका छन् । साथै, बेलडाँडी र भीमदत्त नगरको विकासका लागि विद्यार्थीहरूसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कानुन सबैका लागि बराबर भएको भन्दै एउटै सडकमा बस्ने गरिबले भाग्नु पर्ने, हुनेखानेले त्यही सडकमा दादागिरी शैलीमा बसिराख्नु न्यायोचित नभएको भन्दै यस विषयमा प्रशासनलाई गम्भिर भई जिम्मेवारी पूर्णरुपमा बहन गर्न आग्रह समेत गरेका छन् ।
बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले नक्साअनुसारको सडक विस्तार सबैको हितमा रहेको बताए । उनले पालिकाको निर्णय कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आह्वान गरे ।
तर, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई आफ्नै अघिल्लो निर्णयबाट पछि हटेको आरोप लागेको छ । उनले सुरुमा प्रशासनको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए पनि पछिल्लो समय सडक १२ मिटर मात्र विस्तार गर्नुपर्ने अडान लिएका छन् । एउटै नक्साको बाटोमा कोही त्यही बसेर व्यापार गर्ने कोहीको उठीबास हुने त्यो कसरी न्यायोचित भयो भन्ने प्रमुख जिल्ला अधिकारीलाई हाम्रो सवालको जवाफमा विस्तारै सबैले खाली गर्नुपर्छ भन्ने तर्क राख्दै फोन काटेका थिए ।
बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि कालिकिच जोड्ने सडक विस्तारको योजना अघि बढाइरहेको छ । कार्यपालिकाको निर्णय अनुसार दुई चरणमा १५ दिन र ७ दिनको सूचना जारी गर्दा पनि तोकिएको स्थान खाली नगरिएपछि गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले आफ्नै व्यवसायिक सटर हटाउँदै अभियानको शुभारम्भ गरेका थिए ।
Discussion about this post