लालझाडी । नेपाली सेनाले कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज (शनिबार) बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । श्री नं. २५ बाहिनी अड्डा, भगतपुरको आयोजनामा लालझाडी गाउँपालिका-२ स्थित भानु माध्यमिक विद्यालय कञ्जमा शिविर आयोजना हुन लागेको हो ।
शिविरमा ११ भन्दा बढी विशेषज्ञ चिकित्सक तथा अन्य मेडिकल अधिकृतहरूले सेवा प्रदान गर्नेछन् । नेपाली सेनाको सैनिक अस्पताल नेपालगञ्ज, धनगढी तथा महाकाली प्रादेशिक अस्पतालका अनुभवी चिकित्सकहरूको टोलीले निःशुल्क स्वास्थ्य सेवा दिनेछ । शिविरमा फिजियोथेरापी, छाला तथा यौन रोग, हाडजोर्नी रोग (अर्थोपेडिक), नाक, कान, घाँटी, दन्त उपचार, स्त्री तथा बाल रोगसम्बन्धी परामर्श तथा उपचार, भिडियो एक्स-रे, अल्ट्रासाउन्डजस्ता अत्यावश्यक सेवा उपलब्ध हुनेछन् ।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ । विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । शिविरमा आवश्यक औषधि तथा सहायक सामग्री विभिन्न सहयोगी संस्थाहरूले प्रदान गर्नेछन् ।
स्वास्थ्य सेवाका अतिरिक्त नेपाली सेनाले सैनिक प्रदर्शनी, लागुऔषध दुव्र्यसनबारे जनचेतना, वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रम, सांस्कृतिक प्रस्तुति, मन्दिर सरसफाइ तथा सर्पदंशसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ । यी अन्य गतिविधिहरू आजैदेखि सुरु हुनेछन् ।
नेपाली सेना विपद् व्यवस्थापन, सामाजिक सेवा तथा भौतिक पूर्वाधार निर्माणमा समेत निरन्तर योगदान दिँदै आएको छ । नागरिकसँग सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सेना समयसमयमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।





















Discussion about this post