बेलडाँडी, कञ्चनपुर – नेपालमा सार्वजनिक निर्माण कार्यको ढिलासुस्ती र ठेकेदार कम्पनीहरूको लापरवाहीबारे बारम्बार गुनासो आउने गर्छ। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ मा एउटा निर्माण कम्पनीले ठेक्का भएको तीन महिनाभित्रै निर्माण कार्य सम्पन्न गरी उदाहरणीय काम गरेको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नं. १ को गणेशपुर मध्यमार्ग कालोपत्रेका लागि तीन महिनाअघि पूर्वाधार कार्यालय धनगढी र विवेक बिल्डर्सबीच सम्झौता भएको थियो। सम्झौतासँगै निर्माण कम्पनीले तत्कालै काम सुरु गरी निर्धारित समयसीमा अगावै सम्पूर्ण कार्य सम्पन्न गरेको छ । सात सय मिटर लम्बाइ, आठ मिटर बेस चौडाइ र ५.५ मिटर कालोपत्रे चौडाइ रहेको उक्त सडक खण्ड समय सीमा भन्दा अगावै सम्पन्न भएको छ ।
निर्माण कार्य समयमै सम्पन्न भएकोमा वडा नं. १ का अध्यक्ष उत्तर देव भट्टले खुसी व्यक्त गर्दै निर्माण कम्पनी तथा पूर्वाधार कार्यालय धनगढीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भने, “यदि सबै निर्माण कम्पनीहरूले यस्तै अनुशासित ढंगले काम गर्ने हो भने विकास निर्माणको गतिमा व्यापक सुधार आउनेछ ।“
स्थानीय बासिन्दाहरूले समेत निर्माण कम्पनीको कार्यशैलीको प्रशंसा गरेका छन् । उनीहरूले देशभरका सबै निर्माण कम्पनीहरूले समयमा काम सम्पन्न गर्ने हो भने मुलुकको विकासले तीव्र गति लिने बताए । अधिकांश ठेकेदार कम्पनीहरू निर्माण कार्य अधुरै छोड्ने, समयसीमा कटाएर ढिलाइ गर्ने, गुणस्तरहीन काम गर्ने प्रवृत्ति मौलाइरहेका बेला विवेक बिल्डर्सले दिएको सकारात्मक सन्देश उदाहरणीय रहेको स्थानीयवासीको भनाइ छ ।
वडाध्यक्ष भट्टका अनुसार, वडाका अन्य विकास निर्माण कार्यमा समेत निरन्तर निगरानी राख्ने प्रतिबद्धता व्यक्त गर्दै गुणस्तरीय पूर्वाधार विकासमा जोड दिने बताए । उनले थपे, “यस्तो अनुशासित कार्यशैलीलाई प्रोत्साहन गर्न हामीले निरन्तर सहकार्य गर्नुपर्छ ।“
यस निर्माण परियोजनाको सफल कार्यान्वयनले अन्य विकास निर्माण कार्यहरूमा समेत नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ । स्थानीयवासीहरूले अन्य क्षेत्रका ठेकेदारहरूलाई समेत यस्तै जिम्मेवारीबोधका साथ काम गर्न आग्रह गरेका छन् । समयमै सम्पन्न भएका यस्ता आयोजनाले नजिकिँदै गरेको वर्षायाममा पनि नागरिकलाई सहज यात्रा गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।





















Discussion about this post