कञ्चनपुर । कञ्चनपुरको दक्षिणी ग्रामीण क्षेत्र लालझाडी गाउँपालिकामा नेपाली सेनाले विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सेनाको सुदूरपश्चिम पृतना अन्तर्गत कञ्चनपुरको २५ नम्बर वाहिनीले शनिबार लालझाडी गाउँपालिका-२, कञ्ज गाउँमा उक्त शिविर सञ्चालन गरेको हो।
सेनानी आकाश बस्नेतका अनुसार स्वास्थ्य शिविरबाट ८३४ नागरिकले सेवा लिएका छन्, जसमा ५१६ महिला र ३१८ पुरुष रहेका छन्।
शिविरमा नेपाली सेनाका ११ चिकित्सक र महाकाली अस्पतालका ६ विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए। शिविरमा फिजियोथेरापी, छाला तथा यौन रोग, अर्थोपेडिक, अल्ट्रासाउन्ड, भिडियो एक्स-रे, दन्त सेवा, स्त्रीरोग, बालरोग, नाक-कान-घाँटी उपचार जस्ता सेवाहरू निःशुल्क प्रदान गरियो। साथै, सेनाले अपाङ्गता भएका व्यक्तिहरूलाई बैशाखी र ह्वीलचेयरसमेत वितरण गरेको थियो।
महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले सेनाले ग्रामीण क्षेत्रमा सञ्चालन गरेको शिविरबाट नागरिकहरूलाई विशेष सेवा पुगेको बताए। लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले स्थानीय तह तथा सरोकारवालासँग सहकार्य गर्दै सञ्चालन गरिएको शिविरबाट नागरिकहरू लाभान्वित भएको बताए।
२५ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी माधव थापाले नागरिक र सेनाबीचको सम्बन्ध विस्तार तथा सामाजिक उत्तरदायित्व वहन गर्न शिविर आयोजना गरिएको बताए। स्वास्थ्य सेवा गाउँमै प्राप्त गरेपछि स्थानीयवासी उत्साहित देखिएका छन्।
शिविरअघि नेपाली सेनासम्बन्धी वृत्तचित्र प्रदर्शन, लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना कक्षा, मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरणबारे जानकारी, लालझाडीका सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रम, माइन जोखिम सचेतना, युवा सचेतना कार्यक्रम तथा महाकाली मावि र श्रीदल गुल्मबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको थियो। सेनाको उपस्थितिपछि गाउँमा उत्साहजनक माहोल देखिएको स्थानीयहरूले बताएका छन्।
Discussion about this post