किसान बाबुको छोरा बेलडाँडीका भट्ट बने सुदूरपश्चिम विश्वविद्यालयका टपर

 

कञ्चनपुर, २५ फागुन – संघर्ष र मेहनतले भरिएको यात्रा तय गर्दै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१, झर्नासागर (लक्ष्मी टोल) निवासी पदमराज भट्टले सुदूरपश्चिम विश्वविद्यालयका टपर विद्यार्थी बन्ने गौरव हासिल गरेका छन् । उनको यो उपलब्धिले न केवल परिवारको नाम उचो बनाएको छ, तर सम्पूर्ण क्षेत्रकै शैक्षिक क्षेत्रलाई प्रेरित गरेको छ ।

पदमराजका पिता गणेश दत्त भट्ट पेशाले किसान हुन् । आर्थिक अभाव र विभिन्न चुनौतीबीच पनि उच्च शिक्षा प्राप्त गर्ने सपना देखेका पदमराजले आफ्नो अटल संकल्प र परिश्रमले सफलता प्राप्त गरेका हुन् । पाँचौँ दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनलाई ‘चान्सलर पदक’ प्रदान गरेका छन् ।

बाल्यकालदेखि नै अध्ययनमा अब्बल रहेका भट्टले प्रारम्भिक शिक्षा गाउँकै सिद्धनाथ आधारभूत विद्यालयबाट पूरा गरे । कक्षा ६ देखि ८ सम्म सरस्वती माविमा अध्ययन गरेपछि, ९ देखि १२ सम्मको अध्ययन रौलेश्वर माध्यमिक विद्यालयबाट सम्पन्न गरे । उच्च शिक्षाका लागि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भर्ना भएर स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरे ।

१२ कक्षा उत्तीर्ण गरेपछि रोजगारीको सिलसिलामा भारत गएका भट्टले उच्च शिक्षा हासिल गर्ने आफ्नो सपना साकार पार्न स्वदेश फर्कने निर्णय गरे । परिवार, विद्यालय र समाजको सहयोग तथा आफ्नो अथक परिश्रमकै कारण उनले २०७९ शैक्षिक वर्षमा शिक्षाशास्त्र अन्तर्गत स्नातकोत्तर तहमा ३.४० जिपिए हासिल गर्दै पहिलो स्थान प्राप्त गरे ।

हाल उनी सरस्वती माविमा शिक्षण पेशामा आबद्ध छन् । भट्टले भने, “संघर्षबिना सफलता सम्भव छैन । निरन्तर मिहिनेत, समर्पण र दृढ संकल्पले सफलता अवश्य हात लाग्छ ।“

भट्टजस्तै अन्य मेधावी विद्यार्थीहरूले पनि यस वर्ष उत्कृष्टता हासिल गरेका छन् । भाईस चान्सलर स्कुल अफ एग्रिकल्चर टीकापुरकी कुसुम तिमिल्सिनाले स्नातक तहमा ३.९३ जिपिए ल्याएर टपर भएकी छिन् । स्वर्ण पदक प्राप्त गर्ने अन्य विद्यार्थीहरूमा कैलाली बहुमुखी क्याम्पसका उमेश कुमार विष्ट, गंगादत्त जोशी, दार्चुला बहुमुखी क्याम्पसकी चाँदनी कुंवर, केन्द्रीय क्याम्पसका नवराज पन्त, दिपेन्द्र प्रसाद पाण्डेय, देवेन्द्रसिंह ठगुन्ना, र श्रव्यराज पण्डित रहेका छन् ।

यस वर्ष १,३७७ विद्यार्थी दीक्षित भए पनि ३७१ विद्यार्थी मात्र समारोहमा सहभागी भएका थिए । दीक्षान्त समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले विश्वविद्यालय १४औँ वर्षमा प्रवेश गर्दा ९ संकायअन्तर्गत अध्ययन सञ्चालन भइरहेको जानकारी दिए । उनले आगामी दिनमा ‘आविष्कार केन्द्र’ स्थापना गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजना रहेको उल्लेख गरे ।

पदमराज भट्टको संघर्ष, लगनशीलता र सफलता सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणादायी छ । उनीजस्ता मेहनती विद्यार्थीहरूकै कारण देशको शैक्षिक भविष्य उज्ज्वल बन्ने आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित