कञ्चनपुर । सधैं समाचार लेखेर समाजलाई सूचना दिने पत्रकारहरूबीच नयाँ रंगिन माहोल सिर्जना भएको छ । गत वर्षदेखि कञ्चनपुरका पत्रकारहरू होली पर्व मनाउन सक्रिय छन् । होली खेल्दै संकलित रकमको केही अंश अनाथालयलाई सहयोग र बाँकी रकम पत्रकारिता क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित अन्तरप्रदेश भ्रमणमा लगानी गर्ने चलन गत वर्ष देखि शुरु भएको थियो । यो अभ्यासले पत्रकारितामा निखारता ल्याएको स्वयं सहभागी पत्रकारहरूले स्वीकारेका छन् ।
तर, पत्रकारिता क्षेत्रकै एक ’महान’ सिनियर पत्रकार रनी विवस भने बेग्लै सोच राख्छन् । उनी भन्छन् — “पत्रकारले समाचार लेख्ने हो, होली खेल्ने होइन ।“ विवसको यो भनाइले कञ्चनपुरका क्रियाशील पत्रकारहरूबीच राम्रै हलचल मच्चाएको छ । पत्रकारहरूले प्रश्न गरेका छन्— “अनि पत्रकारले जाडरक्सी खान भने हुने हो ? किनकि त्यो विषयमा विवसज्यूको कलम सधैं मौन देखिन्छ ।“
होली रंग, संस्कार र सद्भावको पर्व हो । पत्रकारहरूले मात्र होइन, समाजका हरेक तहका व्यक्तिहरूले मनाउने पर्व हो । समाचार संकलन र रिपोर्टिङ गर्नु पत्रकारको धर्म हो भने सामाजिक उत्तरदायित्व बहन गर्नु पनि उनको कर्तव्य हो । यही जिम्मेवारीबोधका साथ पत्रकार महासंघ, कञ्चनपुर शाखाका उपाध्यक्ष धर्मा रोकाया भन्छन्— “पत्रकारहरू सधैं अरूका खबर संकलन गर्छन् । तर, कहिलेकाहीं आपसी भाइचारा र एकताको प्रतीक बनेर यस्ता सांस्कृतिक पर्वहरू मनाउनु जरुरी छ ।“
वास्तवमा, होली पर्व अब पत्रकारहरूका लागि केवल मनोरञ्जन मात्र होइन, सामाजिक उत्तरदायित्वको वहन गर्ने माध्यम पनि बनेको छ । विवसज्यूलाई त होला, ’पत्रकारिता’ भनेको केवल टाइप गर्ने औजार मात्र। तर, कञ्चनपुरका पत्रकारहरू भन्छन्— “पत्रकारिता भनेको समाजसँग जोडिने, समाजलाई चेतना दिने, समाजलाई एकता र सद्भावमा जोड्ने अभियान हो ।“
पत्रकारहरू सधैं अरूलाई खबरको पात्र बनाउने मात्र होइन, कहिलेकाहीँ समाजसँग रंगिएर समाजलाई सकारात्मक सन्देश दिने पात्र पनि बन्न सक्छन् । होलीको रङ विवसज्यूको सोचमा पनि केही छिर्दो हो त पत्रकारिता अझ जीवन्त हुन्थ्यो कि ?“
Discussion about this post