काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले तत्कालीन सरकार र विद्रोही माओवादीले विदेशी शक्तिको इसारामा राजा वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन्।
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’, सुन तस्कर र मूर्ति चोरको संज्ञा दिएपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रतिउत्तर दिएका हुन्। उनले प्रचण्डलाई झूटा र भड्किला अभिव्यक्ति नदिन चेतावनी दिएका छन्।
शाहीले भने, “भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार निर्दोष नेपाली नागरिक को मार्यो? तपाईंले मार्नुभयो। बाटोबाटोमा बम राखेर निर्दोष नागरिक मार्ने को थियो? तपाईं नै हुनुहुन्छ। विदेशीको इसारामा मन्दिरका पुजारी र गुम्बाका लामाहरूको घाँटी रेट्ने को थियो? तपाईं नै हुनुहुन्छ।“
उनले ३३ किलो सुन तस्करी, क्यान्टोनमेन्ट घोटालाजस्ता विषयहरू उठाउँदै ती सबैमा प्रधानमन्त्री दाहालको संलग्नता रहेको दाबी गरे। साथै, राजा वीरेन्द्रको वंश नाशका लागि विदेशी शक्ति र माओवादीबीच सहकार्य भएको आरोपसमेत लगाए।
शाहीले चेतावनी दिँदै भने, “यस्तै झूटा र भड्किला भाषण दिँदै हिँडिरहनुभयो भने नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। अब विदेशी शक्तिको प्रभाव त्यागेर देशका लागि केही गर्नुस्।“ उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।
Discussion about this post