काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने अभिव्यक्ति दिएपछि सांसद दुर्गा राईले त्यसको कडा प्रतिरोध गरेकी छिन् ।
हिजो, आइतबार, प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै घिमिरेले मनोरञ्जन क्षेत्रको विकासले अर्थतन्त्रमा टेवा पु¥याउने दाबी गरेका थिए । ‘मदिरा र मनोरञ्जन क्षेत्रको प्रवद्र्धन गर्न सकियो भने पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्नेछ । मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं, जसले मुलुकमा पर्यटकको संख्या बढाउनेछ,’ उनले भनेका थिए । उनका अनुसार धार्मिक पर्यटकहरूले कम खर्च गर्ने भएकाले मनोरञ्जन क्षेत्रमा लगानी वृद्धि गरिनु पर्ने धारणा राखेका थिए ।
तर, सोमबारको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले कडा प्रतिक्रिया जनाएकी छन्। राईले घिमिरेको भनाइले समाजलाई अराजकतातर्फ लैजान सक्ने भन्दै उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेकी छन्। सांसद राईले उक्त प्रस्तावको घोर विरोध गर्दै कडा प्रतिक्रिया दिइन् । ‘यौन व्यवसायलाई कानुनी मान्यता दिनु पर्ने कुरा उठाउने तपाईं आफ्नै परिवारका सदस्यलाई यस क्षेत्रमा अघि सार्न सक्नुहुन्छ?’ भन्दै उनले प्रतिप्रश्न गरिन् ।
उनले यस्ता विचारले समाजलाई अराजकतातर्फ धकेल्ने चेतावनी दिँदै संसद्मा यस्ता प्रस्ताव नउठाउन आग्रह गरिन्। ‘हाम्रो समाज अनुशासित, मर्यादित र नैतिक मूल्यमान्यता बोकेको छ । यस्तो संवेदनशील विषयलाई आर्थिक पक्षसँग मात्र जोडेर हेर्न मिल्दैन,’ उनले थपिन् । उनले सभामुखसमक्ष घिमिरेको भनाइलाई रेकर्डबाट हटाउन रुलिङको माग समेत गरिन् ।
यसअघि, राप्रपाका सांसद दीपक सिंहले पनि घिमिरेको प्रस्तावको विरोध गरेका थिए। घिमिरेको भनाइले समाजमा नकारात्मक असर पार्न सक्ने भन्दै सिंहले आपत्ति जनाएका थिए।
सांसद राईको भनाइले समाजमा यस्ता विषयबारे गम्भीर बहस आवश्यक रहेको देखाएको छ । नेपाली समाजको सांस्कृतिक, नैतिक तथा सामाजिक संरचना अनुरूप यौन व्यवसायलाई कानुनी मान्यता दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा अब थप गहिरो विमर्श आवश्यक देखिन्छ ।
Discussion about this post