काठमाडौं । पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का कार्यकर्ताबीच कुटाकुट भएको छ। फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद उत्पन्न भएपछि मंगलबार दुई विद्यार्थी संगठनका नेता–कार्यकर्ताबीच झडप भएको हो।
प्रहरीका अनुसार एक विद्यार्थीको परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सुरु भएको थियो। करिब १०० जना विद्यार्थीले मतदान गरिसकेपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया रोकिएको थियो। स्थिति नियन्त्रणमा लिन सर्वपक्षीय बैठक जारी रहेको बेला क्याम्पस बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको हो।
घटनाका क्रममा फलामको रड, लाठी र क्रिकेट ब्याट बोकेका युवाहरू देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रहरीले भीड नियन्त्रण गर्न माइकिङ गरिरहेकै बेला एक व्यक्तिले हेलमेटले प्रहार गर्दा एक जना घाइते भएको एसपी नरहरि रेग्मीले जानकारी दिए। उनका अनुसार प्रहरीले पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिइसकेको छ।
तनावपूर्ण अवस्थाबीच निर्वाचन समितिको बैठक जारी रहेको छ। अनेरास्ववियुलगायतका केही विद्यार्थी संगठनहरूले निर्वाचन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् भने नेविसंघले अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएको छ।
Discussion about this post