राजेन्द्र अवस्थी/विराटनगर । विराटनगरका अग्रज साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित तेस्रो कृति ‘समदृष्टि’ समालोचनासङ्ग्रहको भव्य विमोचन सम्पन्न भएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. प्राज्ञ देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लगायतका अग्रज साहित्यकारहरूको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकहरूको व्यक्तित्व र कृतित्वमाथि समालोचना गरिएको उक्त कृतिको समीक्षा साहित्यकार हरि कट्टेलले गरे । उनले ‘समदृष्टि’ समालोचनासङ्ग्रहलाई उत्कृष्ट कृति भन्दै नेपाली समालोचना साहित्यमा लेखक पोखरेलले मजबुत स्थान बनाएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. प्राज्ञ देवी नेपालले पुस्तक बौद्धिक र गहन भएको उल्लेख गर्दै यसले पाठकको मन जित्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपानेले समालोचक पोखरेलको लेखनी निरन्तर अघि बढे, नेपाली साहित्यमा नयाँ मानक कृति सिर्जना हुने धारणा व्यक्त गरे ।
Discussion about this post