बेलडाँडी – बेलडाँडी गाउँपालिकामा नेपाल शिक्षक संघ बेलडाँडीले सोमबार आफ्नो छैटौं प्रतिनिधि भेला सम्पन्न गरेको छ। यस भेलामा शिक्षकहरूको हकहित र गुणस्तरीय शिक्षा प्रदान गर्ने महत्वपूर्ण विषयमा छलफल भएको थियो।
भेलाले सेवा निवृत्त शिक्षक रैवान शाही र महेशराज जोशीलाई सम्मानित गरेको छ। यस अवसरमा, बेलडाँडी शिक्षक संघका अध्यक्ष दिल बहादुर सिंहले शिक्षक सेवा आयाेगमा नाम निकाल्न सफल शिक्षक बम बहादुर बुढा (प्रा०वि), मोनिका चन्द्र (प्रा.वि.) र तीर्थराज भट्ट (मा.वि.)लाई स्वागत गर्दै उनीहरूलाई वधाई दिएका थिए।
त्यस्तै, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गरेका मोहन जैशीलाई स्ववियु सभापति लगायत पुरै प्यान जिताएको भन्दै बधाई तथा शुभकामना दिइएका थिए।
नेपाल शिक्षक संघ बेलडाँडीका अध्यक्ष दिल बहादुर सिंहको सभापतित्वमा प्रमुख अतिथि ने.शि. संघ सुदूरपश्चिम प्रदेशका उप महासचिव विष्णु सिंह भण्डारी उपस्थित थिए। यस्तै, विशिष्ट अतिथिहरूमा शिक्षक संघ कञ्चनपुरका उपाध्यक्ष नवीन सिंह धामी, जिल्ला सचिव विष्णु जोशी र सह सचिव चक्र वहादुर महरा रहेका थिए।
कार्यक्रममा सहभागीहरूले शिक्षकको हकहितको पक्षमा बलियो भएर काम गर्न सुझाव दिएका छन् र वेलडाँडीका शैक्षिक समस्याहरू समाधान गर्न सधैं प्रतिवद्ध हुने कुरा व्यक्त गरेका छन्।
कार्यक्रमको संचालन सचिव दिपक भट्टले गरेका थिए।
सम्पूर्ण कार्यक्रमले शिक्षकहरूको हकहित र गुणस्तरीय शिक्षामा जोड दिएको थियो, जसले शिक्षकहरूको मनोबल उच्च राख्न र शैक्षिक क्षेत्रको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Discussion about this post