काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको यो कदमलाई अस्वीकार्य भन्दै आलोचना गरेका छन्।
महामन्त्री गगन थापाले सरकारको डेलिभरी सुधार्ने प्रयास भइरहेका बेला उल्टै असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको टिप्पणी गरेका छन्। त्यस्तै, महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस पदाधिकारी तहमा कुनै सहमति नभएको स्पष्ट पारेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत कुलमानलाई हटाउने निर्णयको आलोचना गर्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्। उनले लोडसेडिङ अन्त्यका लागि कुलमानको भूमिका अपरिहार्य रहेको भन्दै सरकारको निर्णयप्रति असहमति जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत सरकारको निर्णयको विरोधमा फेसबुक लाइभमा बत्ती निभाएर मौन धारण गर्दै असन्तोष जनाएका छन्। यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुलमानलाई हटाउने निर्णयलाई प्रतिगमनको संज्ञा दिएका छन्।
यसैबीच, कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन्। मन्त्रिपरिषद्को निर्णयपछि उनले कानुनी उपचार खोज्ने बताएका छन्।
सरकारले कुलमानलाई हटाएर हितमान शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ।
Discussion about this post