कञ्चनपुर, १२ चैत्र । वन, वन्यजन्तु र पर्यावरण संरक्षणमा सञ्चारकर्मी तथा संरक्षणकर्मीको महत्त्वपूर्ण भूमिका रहने सरोकारवालाहरूले बताएका छन्। मंगलबार सामुदायिक वन समन्वय समिति (सिएफसिसी) र तराई भू-परिधि कार्यक्रम (ताल) को सहकार्यमा आयोजित “संरक्षणमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच सहकार्य” विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
पछिल्ला वर्षहरूमा वन, वन्यजन्तु तथा पर्यावरणमाथि विभिन्न खालका प्रहार भइरहेका बेला यसको संरक्षणका लागि सञ्चारकर्मी र संरक्षणकर्मीले समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ। सामुदायिक वन समन्वय समिति (सिएफसिसी) का अध्यक्ष तथा पूर्व सांसद महेश दत्त जोशीले समग्र वातावरण संरक्षणमा यी दुई पक्षको भूमिका महत्त्वपूर्ण हुने भएकाले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताए।
उनका अनुसार, वातावरण संरक्षणमा अन्य निकायहरूको जिम्मेवारी भए पनि सञ्चारकर्मी र संरक्षणकर्मीले थप जिम्मेवार भएर काम गर्नुपर्छ। “संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ,” उनले भने।
वन, वन्यजन्तुका विरुद्धमा भइरहेका गतिविधिहरू सार्वजनिक गर्दै संरक्षणका उदाहरणीय प्रयासलाई प्रवर्द्धन गर्न सञ्चारकर्मी तथा संरक्षणकर्मीबीचको सहकार्य आवश्यक रहेको कार्यक्रममा उठाइएको थियो। सामुदायिक वन समन्वय समिति (सिएफसिसी) का टिम लिडर शिवदत्त पन्तले विगतका वर्षहरूमा समितिले गरेका प्रयासहरूको जानकारी दिँदै वातावरण संरक्षणका क्षेत्रमा सञ्चारकर्मी र संरक्षणकर्मीको भूमिका सराहनीय रहेको बताए।
उनका अनुसार, वन हेरालु प्रशिक्षण, उपभोक्ताका लागि सीपमूलक तालिम, इको क्लबमा विद्यार्थी तथा शिक्षकलाई प्रशिक्षण, सामुदायिक वन पुनरुत्पादन, चोरी तस्करी नियन्त्रण, वन पैदावारमा उपभोक्ताको पहुँच विस्तार लगायतका विभिन्न संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन्। साथै, तीनै तहका सरकारका ऐन तथा नियमहरू अस्पष्ट हुँदा संरक्षणका प्रयासहरूमा चुनौती देखिएको उनले उल्लेख गरे।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उमाकान्त जोशीले संरक्षणका क्षेत्रमा सञ्चारकर्मी र संरक्षणकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले दुवै पक्षले आ-आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा संरक्षणसम्बन्धी अभियानहरू अझ प्रभावकारी बन्ने धारणा राखे।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकार, वन तथा वातावरण संरक्षण क्षेत्रमा कार्यरत संरक्षणकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
Discussion about this post